चितवनमा प्रधानमन्त्री प्रचण्डको गैर राजनीतिक भाषण, अन्य दलको आलोचना नगरी भने'अब भाषण हैन काम गर्छु'
काठमाडौं : हालै पाँच दलीय गठबन्धन छाडेर एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवनमा छन् आज।
शनिवार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी भएका उनी आज अन्य कार्यक्रमहरूमा समेत सहभागी हुँदैछन्।
हीरक समारोहमा करिब ८ मिनेट भाषण गरेका प्रचण्डले न कुनै दललाई गाली वा प्रशंसा गरे न नयाँ राजनीतिक समीकरणको औचित्यबारे नै केही बोले।
उनले हरेक दिन सुशासनको पक्षमा काम गर्दै जाने र नेपाली जनताको आवश्यकता सम्बोधन गर्दै जाने दाबी गर्दै भने' ‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु। त्यसैले म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकालमा। म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु।’
उनले जनताले विभिन्न क्षेत्रमा पाइरहेको सास्तीलाई कम गर्न मन्त्रिपरिषद्को पहिलो बैठकमै निर्णय गरेको र जनतालाई पिर मर्का पार्नेलाई निमिट्यान्न पारेर अगाडि बढ्ने तयारीमा रहेको दाबी गरेका थिए।
उनले सुशासन र सम्बृद्धीको नयाँ सूत्रपात गर्न अपिल समेत गरेका थिए।
पुष १६, २०७९ शनिबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।