अन्तर्राष्ट्रिय प्रभावले गर्दा कांग्रेसको सरकार बन्न सकेन: पूर्वगृहमन्त्री खाँण

अन्तर्राष्ट्रिय प्रभावले गर्दा कांग्रेसको सरकार बन्न सकेन: पूर्वगृहमन्त्री खाँण

बुटवल: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गरेका छन्। कांग्रेसकै सरकार गठन हुन लाग्दा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूको सरकार गठन हुन नसकी प्रतिकूल अवस्था आएको उनले दावी गरे।

४६औँ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले पार्टीलाई एउटा सुढृढ र सक्षम राजनीतिक शक्तिमा कसरी रूपानन्तरण गर्ने भन्ने दायित्व रहेको धारणा राखे।

‘सरकारमा नहुँदैमा आत्तिनु हुँदैन,करेक्सन गर्नुपर्छ। नीति र सिद्धान्तमा केही कमी छैन, रणनीतिगत हिसाबले कहाँ चुक्यौँ समीक्षा गर्न भने जरुरी छ’, उनने भने।

नेपाली कांग्रेस राजनीतिक पार्टीको रूपमा मात्रै नभई नेपालको एउटा लोकतान्त्रिक शक्तिको रूपमा यसको भूमिका रहेको उनको धारणा छ।

उनले भने, ‘कांग्रेसले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार संचालन गर्न कोसिस भने गर्ने र सत्तामा जान पहुँच स्थापित गर्ने काम त जारी नै राख्छ नि। सरकार, पार्टीहरूको स्वाभाविक प्रक्रिया हुन् अहिले असहज र अन्यथा लिनु हुँदैन।’

कांग्रेस मूलभूत सिद्धान्त, नीति, रणनीति, दृष्टिकोणका साथमा सरकार संचालन गर्ने रणनीतिमा लागि नै रहने खाँणको दावी छ।

पुष १६, २०७९ शनिबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।