जापानको समुद्री क्षेत्रमा उत्तर कोरियाले प्रहार गर्‍यो तीन क्षेप्यास्त्र

जापानको समुद्री क्षेत्रमा उत्तर कोरियाले प्रहार गर्‍यो तीन क्षेप्यास्त्र

एजेन्सी: उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन क्षेप्यास्त्र प्रहार गरेको छ। आज उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको हो।

जापानको रक्षा मन्त्रालयका अनुसार पहिलो क्षेप्यास्त्र शनिबार बिहान ८:०० बजे प्रहार भएको थियो। त्यसको १४ मिनेटपछि दोस्रो र लगत्तै एक मिनेटपछि तेस्रो क्षेप्यास्त्र प्रहार भएको छ।

तीन वटै क्षेप्यास्त्र प्योङयाङबाट (राजधानी शहर) प्रहार भएको र करिब एक सय किलोमिटरको उँचाइमा ३५० किलोमिटर परसम्म प्रहार भएको छ।

क्षेप्यास्त्र सि अफ जापान नामको समुद्री क्षेत्रमा खसेको थियो। तटीय क्षेत्रबाट ३७० किलोमिटर पर जापानको आर्थिक क्षेत्रभन्दा बाहिर खसेको थियो। 

हाल रक्षा मन्त्रालयले क्षेप्यास्त्रको मार्गमा रहेका हवाईजहाज र पानीजहाजलाई सचेत रहन निर्देशन दिइसकेको छ। अहिले कुनै पनि घटना भएको छैन।

यस्तै एक विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयले भनेको छ, 'उत्तर कोरियाको शृङ्खलाबद्ध हर्कतले जापानसहित यो क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई चुनौती दिएको छ। त्यसमाथि यस्ता ब्यालेस्टिक मिसाइल परीक्षण गर्नु आफैँमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को सङ्कल्पविपरीत छ।'

यता दक्षिण कोरियाका सैनिक अधिकारीले आफूहरूले उत्तर कोरियाको हर्कत नियालिरहेको बताएका छन्।

पुष १६, २०७९ शनिबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।