निर्मला घटनाबारे अनुसन्धान गर्न प्रहरीको नयाँ समिति, जिम्मा डिआइजी दुर्गालाई

निर्मला घटनाबारे अनुसन्धान गर्न प्रहरीको नयाँ समिति, जिम्मा डिआइजी दुर्गालाई

काठमाडौं : किशोरी निर्मला पन्तको हत्या र बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले नयाँ अनुसन्धान समिति गठन गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस घटनाको अनुसन्धान गरिरहेको थियो।

गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति गठन गरेको हो। सो समितिलाई पुन अनुसन्धान गर्न तोकिएको प्रधान कार्यालय स्रोतले जानकारी दियो।

समितिमा ब्युरोका एसपी कमल थापा समेत छन्। साथीको घरमा गएर फर्कनेक्रममा चार वर्ष अगाडि पन्तको हत्या भएको थियो। उखुबारीमा उनको शव फेला परेको थियो। शवको पोस्टमार्टमपछि बलात्कार समेत भएको खुलेको थियो।

प्रहरीले सो घटनाको अनुसन्धान गर्न पटक-पटक अनुसन्धान समिति गठन गरिसकेको छ। डिआइजी सिंह समेत यस अगाडिको अनुसन्धानमा संलग्न थिइन्। डिएनए केन्द्रित भएर भएको अनुसन्धानमा घटनामा संलग्न रहेको बलियो शंकामा परेकालाई समेत प्रहरीले न्यायिक प्रक्रियामा लैजान सकेको थिएन।

मुख्य शंकामा आरोपी विष्ट

पन्तको बलात्कार र हत्याको मुख्य शंकामा अहिले पनि दिलीप सिंह विष्ट नै देखिन्छन्। तर डिएनए परीक्षणको आधारमा थप प्रमाण फेला परे अनुसन्धानका दायरामा ल्याउने सर्तमा हाजिर जमानीमा रिहा भएका उनलाई पुन पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छैन।

यस बिचमा यस घटनामा विष्टको भूमिकाबारे थप प्रमाण फेला परेको प्रहरीले दाबी गर्ने गरेको छ। विष्टलाई अदालतले नभई सरकारी वकिलको निर्देशनमा छाडिएको थियो। विष्ट पक्राउ परेर हिरासतमा राखिएको २४ दिनमा हाजिर जमानीमा छाडिएकाले उनैलाई अनुसन्धानको दायरामा ल्याउने हो भने प्रहरीसँग जम्मा एक दिन मात्र समय हुन्छ।

एक दिनभित्र यसबिचमा उनीबारे आएका नयाँ तथ्य लगायतका पूरक बयान गराउन सक्ने कानुनी बाटो खुल्ला रहेको एक प्रहरी अधिकारीले जानकारी दिए।

नयाँ सिराबाट अनुसन्धान

शुक्रवार गठन भएको नयाँ समितिलाई नयाँ सिराबाट अनुसन्धान गर्ने जिम्मेवारी तोकिएको छ। अहिलेसम्मको अनुसन्धानको विश्लेषण गरेर नयाँ तथ्य र प्रमाणको आधारमा आरोपी पहिचान गर्ने समितिको जिम्मेवारी रहेको जानकार अधिकारीले बताए।

ती अधिकारीका अनुसार नयाँ समितिले अहिलेसम्मको अनुसन्धानको तथ्य र प्रमाणसँगै पक्राउ परेर रिहा भएका आरोपीहरूबारे समेत अनुसन्धान गर्न सक्नेछ। अनुसन्धानले नयाँ आरोपी देखाएमा अनुसन्धानको दायरामा ल्याउन सक्नेछ।

समितिले राष्ट्रिय मानव अधिकार आयोगले निर्मला घटनाको अनुसन्धानमा डिएनएमा मात्र भर नपरी ह्युमन इन्टेलिजेन्समा आधारित भएर अनुसन्धान गर्न दिएको निर्देशन समेत पहिल्याउने तयारी गरेको छ।

पुष १५, २०७९ शुक्रबार २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।