जुन युवतीकाे हत्या आरोपमा सात वर्ष जेल परे विष्णु, उनै युवती जिउँदाे भेटिइन्

जुन युवतीकाे हत्या आरोपमा सात वर्ष जेल परे विष्णु, उनै युवती जिउँदाे भेटिइन्

एजेन्सी : कुनै अपराध गरेको पुष्टि भएपछि मानिस जेल जान्छ। तर भारतको उत्तर प्रदेशमा अनौठो घटना भयो।

विष्णु नाम गरेका एक युवक जिउँदो व्यक्तिको हत्या आरोपमा जेल पठाइए। जसको हत्या गरेको भन्दै दोषी ठहर भएर विष्णु जेल गए, उनै युवती अहिले जिउँदो भेटिएपछि भारतमा घटनाले चर्चा पाएको छ।

घटनाकै विषयलाई लिएर भारतको राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी अनुसन्धानमा भएको गल्तीका कारण सात वर्ष जेल परेका विष्णु नामका निर्दोष व्यक्तिको घटनाको छानबिन गर्न उत्तर प्रदेशका प्रहरी महानिर्देशकलाई निर्देशन दिएको छ।

यस विषयमा सर्वोच्च अदालतका अधिवक्ता तथा मानवअधिकारकर्मी राधाकान्त त्रिपाठीले राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका थिए।

के हो घटना?
सन् २०१५ मा १७ वर्षीया किशोरी बेपत्ता भएपछि घटना सुरू हुन्छ। किशोरी बेपत्ता भएपछि उनका बुवाले १७ फेब्रुअरी २०१५ मा प्रहरीले उजुरी दिन्छन्।

प्रहरीले अनुसन्धान अघि बढाउँछ। २४ मार्च २०१५ मा एक युवतीको शव बरामद गर्छ प्रहरीले। बेपत्ता किशोरीका परिवारले शव आफ्नी छोरीको भएको पहिचान गर्छन्।

किशोरीका परिवारले विष्णुले आफ्नी छोरी अपहरण गरेको आरोप लगाउँदै किटानी जाहेरी दिन्छन्। जाहेरीमा उनीहरूले छोरीसँग पछिल्लोपटक विष्णुले भेटेको बताउँछन्।

किटानी जाहेरी नै परेपछि प्रहरीले हातरस निवासी विष्णुलाई पक्राउ गरेर थप अनुसन्धान गर्छ। प्रहरी अनुसन्धानमा चुक हुन्छ। प्रहरीले भारतीय कानूनअनुसार अपहरण र हत्या आरोपमा अदालतमा मुद्दा दर्ता गर्छ र विष्णुलाई प्रमाण नष्ट गरेको आरोपसमेत लगाउँछ।

तर, बिडम्वना विष्णु जेल परेको सात वर्षपछि अपहरणपछि हत्या गरिएकी भनिएकी युवती जिउँदै फेला पर्छिन्। त्यो पनि श्रीमान् र दुई सन्तानसहित।

आयोगले उत्तर प्रदेश प्रहरीका डीजीपीलाई चार हप्ताभित्र घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। युवती जिउँदै भेटिएपछि विष्णुका परिवारले मुद्दा उठाउँछन् र रिहाइको माग गर्छन्।

विष्णुको परिवारको माग र आयोगको निर्देशनपछि प्रहरीले मृत भनिएकी दुई सन्तानकी आमालाई नियन्त्रणमा लिएर पुनः घटनाको अनुसन्धान थालेको छ।

पुष १५, २०७९ शुक्रबार २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।