को गलत ? शंकर पोखरेल कि रवि लामिछाने

को गलत ? शंकर पोखरेल कि रवि लामिछाने

काठमाडौं : बिहीबार बालुवाटारमा सत्ता साझेदार प्रमुख दलहरूको बैठक बस्यो।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए।

बैठकले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तयार पार्ने र त्यसको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको निर्णय गरेको जानकारी पत्रकारलाई गृहमन्त्रीसमेत रहेका लामिछानेले दिए। उनले पत्रकारलाई दिएको जानकारीमा भनेका थिए, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजकका रूपमा अघि बढाउने निर्णय भएको छ।’

तर, सत्ता साझेदार दल एमालेका महासचिवसमेत रहेका शंकर पोखरेलले भने बिहीबार साँझ अर्कै जानकारी गराए। उनले आफ्नो सामाजिक सञ्जालमार्फत न्युनतम् साझा कार्यक्रम मस्यौदा समितिको संयोजकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल चयन भएको जानकारी दिए।

पोखरेलले सरकारमा रहेका दलहरूका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरिय संयन्त्रको संयोजक भने केपी शर्मा ओली रहेको जानकारी दिए।

गृहमन्त्री लामिछानेले बिहीबार बालुवाटारमा पत्रकारका अगाडि भनेको विषय र शंकर पोखरेलल साँझ सामाजिक सञ्जालमा राखेको विषय ठ्याक्कै उल्टो भएको छ। लामिछानेको जानकारीका आधारमा प्रकाशित समाचार समेत अपुरो भयो।

पुष १५, २०७९ शुक्रबार १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।