विविधतामा एकता नै नेपालीको पहिचान हाेः प्रचण्ड
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतामा एकता नै नेपालीको पहिचान भएकाे बताएका छन्। आज राजधानीको टुँडिखेलमा आयोजित ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा उनले नेपाल बहुजातीय, बहुभाषिक, सांस्कृतिक र विविधताले भरिएको मुलुक भएकाे पनि बताए।
कार्यक्रममा प्रचण्डले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने पनि उल्लेख गरे।
‘परापूर्वकालदेखि यस भूखण्डमा विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको सम्मिश्रणद्वारा नै नेपालको समग्र राष्ट्रिय पहिचान बनेको छ’, उनले भने, ’सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको असली पहिचानमा नै नेपालको राष्ट्रिय पहिचान अन्तरनिहित छ।’
ल्होसार पर्व तमु समुदाय मात्र नभई सम्पूर्ण नेपालीले गर्व गर्ने पर्वका रुपमा रहेको उनको भनाइ छ। उनले तमु ल्होसारको सम्मान र सहानुभूतिका निम्ति सरकारले दिने आर्थिक सहयोग रोकिएकोमा आफूले सरकारी सहयोग विगतमा भन्दा बढाउने घोषणा समेत गरे।
पुष १५, २०७९ शुक्रबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।