काठमाडौं उपत्यकामा वायुप्रदूषण बढ्यो, सोमबारसम्म मौसम धुम्मिने
काठमाडौं : काठमाडौंमा वायुप्रदुषण बढेको छ।
शुक्रबार मौसम धुम्म भएसँगै हावाको गति पनि कम भएकाले काठमाडौं उपत्यकाको वायुको प्रदुषण बढेको जल तथा मौमस विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।
बिहीबार १०० भन्दा तलै रहेको हावाको गुणस्तर (एक्यूआई) शुक्रबार १५० भन्दा पनि बढि भएको छ। हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार काठमाडौंको हावा अस्वस्थ्यकर भएको छ।
१०० भन्दा तलको एकक्यूआईलाई स्वास्थ्यका दृष्टिकोणले मध्यम मानिन्छ भने १५० भन्दा माथिको एक्यूआईले अस्वस्थकर। १०० देखि १५० एक्यूआई भएको हावा संवेदनशील समूहका लागि अस्वस्थ्यकर हुन्छ।
अहिले भक्तपुरको मध्यपुर ठिमीको हावाको गुणस्तर १८२ एक्यूआई छ भने दाङको १५७ र काठमाडौंको १५२ एक्यूआई छ।
यद्यपि काठमाडाैंकाे हावाकाे गुणस्तर विश्वको हावाको गुणस्तरकाे वरीयतामा १६औं स्थानमा छ। सबैभन्दा बढि प्रदुषित हावा भारतको राजनधानी नयाँदिल्लीको छ। त्यहाँको हावाको गुणस्तर २६६ एक्यूआई छ। यो भनेको एकदमै अस्वस्थ्यकर हो।
३०० भन्दा बढि एक्यूआई भएको हावालाई शरीरका लागि घातक मानिन्छ।
कहिलेसम्म धुम्मिन्छ मौसम ?
पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा अझै दुई–तीन दिनसम्मा घाम लाग्ने मौसमविद् कार्कीले उकेरालाई बताए। उनका अुनसार तराई क्षेत्रमा भने विहानीपख हुस्सु लागे पनि दिउँसो मौसम सामान्यतया सफा नै छ।
‘काठमाडौं उपत्यका तथा पहाडी भू–भागमा तत्काल मौसम खुलिहाल्ने सम्भावना छैन,’ उनले भने, ‘सोमबारबाट खुल्दै जान्छ, त्यसपछि घाम पनि लाग्छ।’
मौसम धुम्म भए पनि पानी पार्ने प्रणाली भने सक्रिय नभएको उनको भनाइ छ।
पुष १५, २०७९ शुक्रबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।