अर्थतन्त्रकाे विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीकै कुराे बाझियाे, व्यापारीलाई भने उच्च ब्याजदर र तरलता अभावकाे चिन्ता
काठमाडौं। नयाँ गठबन्धनको सहयोगमा नयाँ प्रधानमन्त्री बनेर पद तथा गोपनीयताको शपथ खाएको भोलीपल्ट बिहानै पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न व्यापारीहरूको टोली नै खुमलटार पुगेको थियो। प्रधानमन्त्रीको निजी निवासमा नै पुगेर नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले प्रचण्डलाई देशको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बताए।
उक्त टोलीमा महासंघका अध्यक्ष शेखर गोल्छासहित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष अञ्जन श्रेष्ठ र महानिर्देशक गोकर्ण अवस्थी लगायतका ठुला व्यापारी रहेका थिए।
त्यसै दिन, प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न नेपाल उद्योग परिसंघको टोली पनि पुगेको थियो। यस टोलीले पनि संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न चाल्नुपर्ने कदमको अवधारणा प्रधानमन्त्रीलाई बुझाएको थियो।
जवाफमा प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर भएको बताए। उनले अर्थतन्त्र सुधारमा सरकारले दरिलो कदम चाल्ने आश्वासन पनि दिए। आफू देशको अर्थतन्त्रको विषयमा निकै संवेदनशील भएको बताउँदै उनले मन्त्रिपरिषद्को पहिलो बैठकले समेत अर्थतन्त्रमा देखापरेका समस्यालाई सम्बोधन गर्ने निर्णय गरेको जानकारी गराए।
उक्त दिन नै उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट्यो। भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र अहिलेसम्मकै अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै तत्काल अर्थतन्त्र सुधारको दिशामा ध्यान केन्द्रित गर्न आग्रह गरे।
अर्थतन्त्रलाई चलायमान गर्न तत्काल विशेष कदम चाल्न सुझाव दिँदै उनले ब्याजदरलाई घटाएर स्थायित्व दिनुपर्ने, तरलताको समस्या समाधान गर्नुपर्ने र लगानी घट्दै गएको अवस्थामा सुधार ल्याउन आग्रह गरेका थिए। अर्थतन्त्रलाई सही मार्गमा ल्याउन राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको उनको भनाइ थियो।
तर, मन्त्री पौडेलले भने मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर नगएको भन्दै निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गरे। उनले सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
‘निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरू मनोबल उच्च बनाएर काम गर्नुहोस्’, उनले भने, ‘म तपाईंहरूको प्रतिनिधिका रुपमा समस्या समाधानका लागि काम गर्नेछु।’
अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणमा नै रहेकाे बताइरहँदा बुधबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए। याे विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीकाे कुरा नै बाझियाे।
प्रचण्डले सरकारको प्रमुख ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित भएको पनि स्पष्ट पारे। उनले भने, ‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको संकटलाई जोगाउने दायित्व सबैको हो। सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ।’
उक्त भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको बताएका थिए। उनले दोहोरो अंककाे आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्न एकल अंककाे ब्याजदर कायम गर्नुपर्ने बताए।
महासंघका अध्यक्ष गोल्छाका अनुसार समग्रमा अर्थतन्त्र अप्ठ्यारोमा छ, निजी क्षेत्र समस्यमा छ, चालु खर्च राजस्वले मात्रै धान्न सक्ने अवस्थामा छैन। अर्थतन्त्रमा बहुुआयामिक असर परेको, विशेषगरी समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेका छ।
निजी क्षेत्रका प्रतिनिधिहरूका अनुसार हाल पुँजी बजारमा समग्रमा ३८ प्रतिशतले गिरावट आएको छ। तर, पौडेल अर्थमन्त्री बनेर आएकाे केही दिनमा नै पुँजी बजारले सकारात्मक संकेत भने गरेको देखिन्छ।
पुष १५, २०७९ शुक्रबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।