राष्ट्र बैंकको नीतिविरुद्ध बुटवलका उद्योगी व्यवसायी आन्दोलित
बुटवल : नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरूले उद्योगी व्यवसायीहरूप्रति अव्यावहारिक नीति ल्याएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीहरू आन्दोलित भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले हालै दाङमा प्रदेश स्तरीय भेला गरेको थियो। भेलाले पुस २० गतेसम्म आन्दोलनका कार्यक्रम तय गर्दै अल्टिमेटम दिएको थियो। सोही अनुसार बुटवलमा क्रियाशिल विभिन्न व्यावसायिक संघसंस्थाहरूले हस्ताक्षर संक्रलन कार्यक्रम गरेका हुन्।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजनमा रुपन्देही उद्योग संघ, रूपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्त रूपमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिए।
उनका अनुसार यो कार्यक्रम २१ गतेसम्म जारी रहने छ। संकलित हस्ताक्षर नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल राष्ट्र बैंकलाई बुझाइने छ। नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंक तथा वित्तिय संस्थाहरूको अव्यावहारिक नीतिका कारण उद्योगी व्यवसायीलाई जटिल अवस्थामा पुर्याएको उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकको नीतिकै कारण बैंक तथा वित्तिय संस्थाहरूले व्याजदर बढाउँदै लैजाँदा उद्योगी व्यवसायी तिर्नै नसक्ने स्थितिमा पुगेका छन्। बुटवलमा मात्रै चार पाँच जना व्यवसायीले आत्महत्या गरिसकेको उनले दावी गरे।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले आजदेखि २१ गतेसम्म हस्ताक्षर संकलन गर्ने निर्णय गरेको थियो।
पुष १५, २०७९ शुक्रबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।