पेलेकाे निधनमा विश्वभरका खेलाडीले दु:ख व्यक्त गर्दै यस्ताे लेखे

पेलेकाे निधनमा विश्वभरका खेलाडीले दु:ख व्यक्त गर्दै यस्ताे लेखे

एजेन्सीः सर्वाधिक तीन पटकका विश्वकप विजेता ब्राजिलका फुटबल स्टार पेलेको बिहीबार राती ८२ वर्षको उमेरमा निधन भयाे। साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि ‘मल्टिपल अर्ग्यान फेलियर’ का कारण उनको मृत्यु भएको जनाएको छ।

हाल विश्वभरका खेलाडीहरूले उनकाे निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धासुमन अर्पण गरिरहेका छन्। अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जालमा उनकाे आत्माको शान्तिका लागि प्रार्थना गरेका छन्।

फ्रान्सका स्टार केलियन एमबाप्पेले उनको याेगदानलाई ‘कहिल्यै नबिर्सने’ बताए। पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले भने उनी ‘लाखौंका लागि प्रेरणाकाे स्राेत’ भएकाे उल्लेख गरे।

इंग्लाण्डका पूर्व स्टार खेलाडी डेभिड बेक्यामले पनि ‘पेले कहिल्यै बिर्सन नसकिने व्यक्ति भएकाे र सबै फुटबलप्रेमीकाे सम्झनामा उनी रहीरहने बताए।’

ब्राजिलका स्टार खेलाडी नेयमारले भने पेलेप्रति सम्मान व्यक्त गर्दै ‘ उनले फुटबललाई कला र मनोरञ्जनमा परिणत गरेको’ धारणा राखेका छन्। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले पेलेकाे निधनमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।

 

पुष १५, २०७९ शुक्रबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।