नेपाल नम्बर एक शुक्रलाई कोर्स रेकर्ड सहित सुर्य नेपाल इस्टर्न ओपनको उपाधि
धरान : सुर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्र बहादुर राईले १७–अन्डर १ सय ९३ को कोर्स रेकर्डसहित उपाधि जित्न सफल भएका छन्।
शुक्रले बलभद्र राईले सन २०२० मा बनाएको ९–अन्डर २ सय १ को रेकर्ड तोडे। नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेले।
पार–७० को धरान गल्फ क्लबको कोर्समा अन्तिम दिन ७–अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै १७–अन्डर १ सय ९३ को नतिजामा धरानकै निरज तामाङलाई आठ स्ट्रोकले हराउँदै उपाधि माथि कब्जा जमाए। उनले नगद १ लाख ४० हजार प्राप्त गरे।
तेस्रो दिन ३–अन्डर ६७ मा खेल सकाउँदै समग्रमा ९–अन्डर २ सय १ सहित निरजले दोस्रो स्थान प्राप्त गरे। उनले नब्बे हजार प्राप्त गरेका छन्। २–अन्डर ६८ मा अन्तिम दिनको खेल सकाएका भुवन नगरकोटीले समग्रमा ५–अन्डर २ सय ५ सहित तेस्रो स्थानमा चित बुझाए। उनले ६७ हजार नगद पुरस्कार प्राप्त गरे।
एमेच्योरतर्फ २–ओभर ७२ मा अन्तिम दिनको खेल सकाएका राजकुमार राई समग्रमा इभन–पार २ सय १० स्कोर सहित उपाधि जित्न सफल भए। उनले युवराज भुजेललाई ३ स्ट्रोकले हराए। युवराजले अन्तिम दिन १–अन्डर ६९ सहित ३–ओभर २ सय १३ मा खेल पूरा गरे। कुल १०–ओभर २ सय २० अंकसहित सुन्दर राई तेस्रो भए।
विजयी खेलाडीहरूलाई सुर्य नेपालका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ संघका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गरे।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता रहेको थियो।
प्रतियोगितामा कुल आठ लाख पुरस्कार राशी रहेको थियो। जहाँ उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिता अन्तर्गत शुक्रवार प्रो(एम खेल हुनेछ।
पुष १५, २०७९ शुक्रबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।