नेपाल टी-ट्वान्टी लिगः लगातार पाँचौं जितपछि लुम्बिनी प्ले अफकाे नजिक

नेपाल टी-ट्वान्टी लिगः लगातार पाँचौं जितपछि लुम्बिनी प्ले अफकाे नजिक

काठमाडाैंः लुम्बिनी अल स्टार्स नेपाल टी-ट्वान्टी लिगमा लगातार पाँचौं जित हात पार्दै प्ले अफकाे नजिक पुगेकाे छ। शुक्रबारकाे खेलमा लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले हरायाे।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५० रन बनाएकाे थियाे। जसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४० रनकाे याेगदान दिए।

काठमाडौंका लागि आजमतुल्लाह ओमरजाईले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए। यसपछि १५१ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले खराब ब्याटिङ गर्दा २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्र बनाउँन सक्याे। 

इनिङकाे सुरुवातमा नै मात्र ५ रनमा काठमाडाैंले ४ विकेट गुमाइसकेकाे थियाे। काठमाडाैंका कप्तान ज्ञानेन्द्र मल्लसहित ओपनर लाेकेश बम र विरनदीप डकआउट भए। ब्याटिङमा अफगानी खेलाडी आजमतुल्लाह ओमरजाईले २९ बलमा ३ छक्कासहित सर्वाधिक ३८ रन बनाएका थिए।

लुम्बिनीका लागि भने हरम्रीत सिंहले ४ ओभरमा ३ विकेट लिए। लिगमा लगातार याे पाँचाैं जितसँगै लुम्बिनी १० अंकका साथ शीर्ष स्थानमा छ भने उसकाे प्लेअफ पुग्ने सम्भावना पनि बलियाे बनेकाे छ। काठमाडौं ४ खेलबाट २ जितपछि ४ अंकका साथ लिगकाे तेस्रो स्थानमा छ।

पुष १५, २०७९ शुक्रबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।