साप्ताहिक शेयर समीक्षा: नेप्से 'बियरिस'बाट 'बुलिस'तर्फ लम्कँदै, दिगो हुने सङ्केत
नयाँ सरकार बनेसँगै करिब १७ महिनादेखि 'बियरिस' बाटो तय गरेको नेप्सेले यस साताबाट 'बुलिस'तर्फको बाटो समाएको छ। नेप्से परिसूचकमा एक प्रकारको उछाल नै आएको छ।
यस उछाललाई शेयर बजारका समीक्षकहरूले क्षणिक नभएर दिगो रूपमा अगाडि बढ्ने सङ्केतका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार शेयर बजारले रुचाएको व्यक्ति विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएसँगै तथा अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिल्नु नै नेप्से बढ्नुको मुख्य कारण हो।
अघिल्लो साता १८६७.२१ मा पुगेको शेयर बजार यस साताका चार कारोबार दिनमा १८१.२१ अंकले बढेर २०२९.०३ मा पुगेर बन्द भएको छ। आइतबार क्रिसमसको सार्वजनिक बिदा भएकाले शेयर कारोबार भएन।
सोमबार नयाँ सरकारमा अर्थमन्त्री बनेर विष्णु पौडेल जाने हल्लासँगै शेयर बजारले नयाँ उछालका साथ स्वागत गर्यो। त्यस दिन नेप्से सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको देखियो। सूचक ५६.८८ अंकले बढेर १९२४.०९ विन्दुमा पुगेर रोकियो भने दुई अर्बभन्दा माथिको कारोबार भयो।
मङ्गलबार पनि शेयर बजारको उछाल कायमै रह्यो। उक्त दिन नेप्से परिसूचक ५९.८७ अङ्कले बढेर १९८३.९५ विन्दुमा उक्लिएको थियो। सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य मात्रामा वृद्धि भएको देखियो। विगत केही महिनादेखि दुई अर्बमाथि उक्लन नसकेको कारोबार रकम मङ्गलबार तीन अर्ब ८८ करोड रुपैयाँमा पुगेको थियो।
प्रधानमन्त्री तथा अर्थमन्त्री दुवैले मुलुकको समग्र अर्थतन्त्रसहित पुँजी बजारको सुधार गर्ने अभिव्यक्ति दिएपछि यो रौनकता देखिएको जानकारहरू बताउँछन्।
बजारले बुलिसतर्फको यात्रा सुरु गरिसकेको र अब समय समयमा सामान्य करेक्सन हुँदै बजार अगाडि बढ्ने अर्थविज्ञहरूको राय छ।
बुधबार भने शेयर बजारले खासै गति लिन सकेन। ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागे पनि त्यस दिन नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा अडियो। मङ्गलबारका तुलनामा शेयर कारोबार रकममा पनि कमी आएको थियो।
जम्माजम्मी दुई अर्ब १५ करोडको कारोबार भयो। यस दिन छोटो समयमै प्रोफिट बुक गर्न खोज्ने ट्रेडरहरूका कारण बजारले यस्तो रूप लिएको जानकारहरू बताउँछन्।
साताको अन्तिम कारोबारी दिन अर्थात् बिहीबार भने शेयर बजारमा राम्रै रौनकता देखिन्थ्यो। अघिल्लो दिनको सामान्य करेक्सनपछि बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको थियो। दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएर कारोबार रकममा पनि वृद्धि भएको थियो।
यस दिन नौ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार हुनुसँगै प्रायः सबै उपसमूहका शेयरहरूको मूल्यमा वृद्धि भएको देखियो।
बजारले बुलिसतर्फको यात्रा सुरु गरिसकेको र अब समय समयमा सामान्य करेक्सन हुँदै बजार अगाडि बढ्ने अर्थविज्ञहरूको राय छ।
पुष १५, २०७९ शुक्रबार १३:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।