नेयमारको नजरमा पेले - उनीभन्दा पहिले फुटबल मात्र एउटा खेल थियो, पेलेले फुटबललाई कलामा बदले, मनोरञ्जनमा बदले
एजेन्सीः गएराती ८२ वर्षकाे उमेरमा पेलेकाे निधन भएपछि विश्व फुटबल जगत नै हाल गहिराे शेकमा छ। क्यान्सरका कारण करिब एक महिनादेखि अस्पतालमा रहेका पेलेकाे निधनमा सबैभन्दा बढी दुःखी हुनेमा ब्राजिलका स्टार खेलाडी नेयमार पनि एक हुन्।
पेलेले ब्राजिलबाट तीनपटक विश्वकप जित्दा लगाएकाे १० नम्बरकाे जर्सी हाल नेयमार लगाउछँन्। उनी व्यक्तिगत रुपमा पनि पेलेसँग निकै नजिक छन्।
नेयमारकाे नजरमा पेले ती राजा हुन् जसले फुटबलमा नै आफ्नाे साम्राज्य खडा गरे। उनकै कारणले कति युद्ध राेकिएका थिए। पेलेसँग यस्ताे शक्ति थियाे कि उनकाे जादुमय प्रदर्शनले मानिस मन्त्रमुग्ध हुन्थे। पेले सारा विश्वका युवाहरूका लागि प्रेरणाका स्राेत हुन्।
नेयमार भन्छन्, ‘तीन पटक विश्वकप जितेका पेले फुटबलकाे मात्र हाेइन इतिहास कै सर्वाेत्कृष्ट व्यक्ति हुन्।’
पेलेसँग निकै नजिककाे सम्बन्ध बनाएका नेयमारले पेलेको निधनमा निकै भावुक सन्देश सहित अन्तिम बिदाइ अर्पण गरेका छन्। नेयमारले ब्राजिलका लागि पेलेको महत्त्व खेल मैदानमा मात्र नभएर ब्राजिललाई विश्व मानचित्रमा चिनाउन उनको योगदान अतुलनीय भएको बताए।
पेलेकाे निधनमा भावुक हुँदै नेयमारले लेखे, ‘पेलेभन्दा अगाडि ‘१०’ एउटा नम्बर मात्र थियो। मैले यो भनाइ जीवनको कुनै क्षणमा कुनै ठाउँमा पढेको थिए। तर त्यो भनाइ पनि अपुरो थियो। म भन्छु कि पेलेभन्दा पहिला फुटबल मात्र एउटा खेल थियो। पेलेले सबथोक परिवर्तन गरे। उनले फुटबललाई कलामा बदले, मनोरञ्जनमा बदले। उनले फुटबलबाट नै गरिबहरू, विशेषगरी अश्वेत वर्गलाई आवाज दिए। उनकै कारण फुटबल र ब्राजिल दुवैको हैसियत आकासियो, धन्यवाद छ ती फुटबलका राजालाई। उनी त गए तर उनको जादु सधैं बाँकी रहनेछ। पेले अमर छन्।’
यो सन्देशसँगै नेयमारले इनस्टाग्रामा तीन वटा तस्बिर राखेका छन्। एउटा ‘ओ रेइ’ ताजसहितको पेले छन्। ब्राजिलियन भाषामा ‘ओ रेइ’ काे अर्थ हुन्छ, बादशाह ।
बाँकी दुईवटा तस्बिर पेले र नेयमार सँगै रहेको बेलाको थियो। उनले पेले र उनमा गहिराे मित्रताको नाता रहेको देखाउन खोजेका छन्।
पुष १५, २०७९ शुक्रबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।