आङ सान सुचीलाई थप सात वर्ष जेल सजाय, अब ३३ वर्ष कैदमा

आङ सान सुचीलाई थप सात वर्ष जेल सजाय, अब ३३ वर्ष कैदमा

एजेन्सी: म्यानमारको सैनिक अदालतले नेत्री आङ सान सुचीलाई थप सात वर्षको जेल सजाय तोकेको छ। योसँगै सुचीको कैदी जीवन अब ३३ वर्षको हुने भएको छ।

म्यानमारकी जननिर्वाचित सरकार प्रमुख सुचीलाई अपदस्त गर्दै सन् २०२१ को फेब्रुअरीमा त्यहाँको सेनाले कू गरेको थियो। त्यसयता १८ महिनामा उनले विभिन्न १९ वटा आरोपमा सुनुवाइ भोगिसकेकी छिन्। मानवअधिकारवादीहरूले भने ती आरोपहरू मिथ्या भएको बताउँदै आएका छन्।

गत साता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले उनको रिहाईको माग गरेको थियो। शुक्रबार उनीमाथिका थप पाँच आरोपहरूमा सुरुवाइ भएको थियो। त्यसमध्ये अदालतले उनीमाथिको भ्रष्टाचार आरोप पुष्टि गरेको छ। सुचीले मन्त्रीका लागि हेलिकप्टर भाडामा लिँदा नियम पालना नगरेको बताइएको छ।

यसअघि उनीविरुद्ध कोभिडमा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको, वकीटकी आयात गरेको र आधिकारिक गुप्त ऐनहरू उल्लङ्घन गरेको आरोप पनि पुष्टि भइसकेको छ।

यो वर्ष उनले सामना गरेको सुनुवाइहरू बन्द कोठाभित्र भइरहेका छन्। सर्वसाधारण र सञ्चारमाध्यमलाई त्यहाँ प्रवेश निषेध गरिएको छ। उनको पक्षमा रहेका कानून व्यवसायीहरूलाई समेत बोल्न दिइएको छैन।

७७ वर्षीया नोबेल पुरस्कार विजेता सुचीले आफ्नो जीवनको अधिकांश समय नजरबन्दमा बिताएकी छिन्।

पुष १५, २०७९ शुक्रबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।