मोटरसाइकललाई सिमेन्ट बोकेको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाइते
काठमाडौं: धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ मा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा तीन जना घाइते भएका छन्।
हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय विक्रम भम्जन रहेका छन्।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतलामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्की बताए।
यस्तै घाइते हुनेमा ट्रकमा सवार हाल नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुष, ट्रक चालक बाराको निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सूर्यबहादुर घिमिरे र मोटरसाइकलमा सवार हेटौँडा– १८ फुर्केचौर बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चन रहेका छन्।
घाइतेमध्ये ट्रकमा सवार नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुषको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालक घिमिरे र मोटरसाइकलमा सवार लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
पुष १५, २०७९ शुक्रबार १२:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।