एमडीएमएस तत्काल लागू नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन, विदेशबाट मोबाइल ल्याउँदा अब भन्सार घोषणा गर्नु नपर्ने

एमडीएमएस तत्काल लागू नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन, विदेशबाट मोबाइल ल्याउँदा अब भन्सार घोषणा गर्नु नपर्ने

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनमा तत्काल मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नहुने भएको छ। प्रधानमन्त्री कार्यालयबाट निर्देशन दिइएलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट लागू गर्ने भनेको एमडीएमएस लागू नगर्ने भएको छ।

प्राधिकरणले यसअघि पुस ९ गते एक सूचना जारी गर्दैं आजको मितिदेखि एमडीएमएस प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउने र त्यसपश्चात् भन्सार घोषणा नगरिएका मोबाइल फोन सेट नचल्ने बताएको थियो। तर केही दिनयता सीमित व्यापारिक घरानाको स्वार्थको लागि नियम लागू गरिएको भन्दै यसको विरोध हुन थालेको थियो।

यस्तै एमडीएमएसको विरुद्धमा सामाजिक सञ्जालमा 'नो रेमिट्यान्स'को ह्यासट्याग समेत चलाउन थालिएको थियो। वैदेशिक रोजगारीमा रहेका नागरिकले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धानिँदा एमडीएमएस प्रणाली लागू हुनुले उनीहरूलाई अन्याय हुने भन्दै आवाज उठको थियो।

साथै विदेशबाट ल्याएको फोनको भन्सार घोषणा गर्ने प्रक्रिया समेत झन्झटिलो भएको भन्दै विरोध भइरहेको थियो।

अब भने अर्को निर्णय नहुञ्जेल विदेशबाट ल्याइएको मोबाइलमा भन्सार घोषणा गर्नु नपर्ने भएको छ। यसअघिकै प्रावधानअनुरूप विदेशबाट आउनेले मोबाइल फोन ल्याउन पाउने भएका छन्।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्रधिकरणले एमडीएमएस लागू गरेको बताएको थियो।

पुष १५, २०७९ शुक्रबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।