बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता, साझा न्यूनतम कार्यक्रमबारे छलफल

बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता, साझा न्यूनतम कार्यक्रमबारे छलफल
तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दुई शीर्ष नेताबीच भेट भएको हो।

भेटका क्रममा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको छ। यस्तै प्रदेश सरकारको भागबण्डाको विषयमा पनि छलफल भएको बताइएको छ।

यसअघि हिजो बिहीबार ओलीको संयोजकत्वमा सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न उच्चस्तरीय संयन्त्र गठन गरेको थियो।

यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति पनि बनाइएको थियो। समितिका सदस्यहरूमा नेताहरू वर्षमान पुन, धवलशमशेर राणा र मुकुल ढकाल छन्। उक्त समितिलाई पाँच दिनभित्र मस्यौदा तयार पार्न निर्देशन दिइएको छ।

यस्तै मन्त्रिपरिषद्को विस्तार भने संसद्बाट विश्वासको मत लिइसकेपछि गर्ने तयारी रहेको बताइएको छ।

पुष १५, २०७९ शुक्रबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।