विरोधका बीच एमडीएमएस पूर्ण कार्यान्वयनमा, आजबाट भन्सार घोषणा नभएका मोबाइल नचल्ने

विरोधका बीच एमडीएमएस पूर्ण कार्यान्वयनमा, आजबाट भन्सार घोषणा नभएका मोबाइल नचल्ने

काठमाडौं: आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण कार्यान्वयनमा आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि पुस ९ गते एक सूचना जारी गर्दैं आजको मितिदेखि एमडीएमएस प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउने र त्यसपश्चात् भन्सार घोषणा नगरिएका मोबाइल फोन सेट नचल्ने बताएको थियो।

'मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्रधिकरणले परीक्षणको रूपमा लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) २०७९ पौष १५ गते देखि पूर्ण रूपमा कार्यन्वयनमा आउने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ', सूचनामा भनिएको थियो।

जसअनुसार अब विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दाअगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ डिजिटको आईएमईआई नम्बरसहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ।

व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनपत्रसहित राहदानी/नागरिकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdmsnta.gov.np मा गई दर्ता गर्नुपर्नेछ।

यसका साथै नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोही अनुरूप यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ।

साथै मोबाइल आयातकर्ता/बिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न समेत जानकारी गराइएको छ।

तर, सामाजिक सञ्जाल प्रयोगकर्ता र केही सञ्चारमाध्यमकहरूले भने एमडीएमएस प्रणालीको विरोध गरेका छन्। सीमित व्यापारिक घरानाको स्वार्थ पूर्तिका लागि यो नियम लागू गरिएको भन्दै एमडीएमएसको विरोध भइरहेको छ।

यस्तै विदेशबाट ल्याएको फोनको भन्सार घोषणा प्रक्रिया समेत झन्झटिलो भएको भन्दै विरोध भइरहेको छ। अर्कोतर्फ वैदेशिक रोजगारीमा रहेका नागरिकले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धानिँदा एमडीएमएस प्रणाली लागू हुनुले उनीहरूलाई अन्याय हुने भन्दै आवाज उठिरहेको छ।

पुष १५, २०७९ शुक्रबार ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।