नगर प्रहरी प्रमुख पाण्डेले महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा छानबिन सुरु
काठमाडौँ : महिला कर्मचारीलाई दुर्व्यवहार गरेको गम्भीर आरोप लागेका काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न समिति बनेको छ।
महिला नगर प्रहरीले कर्मचारीले पाण्डेले आफूमाथि गरेको दुर्व्यवहार घटना खुलाउँदै मङ्सिर ९ गते नै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डङ्गोललाई निवेदन दिए पनि छानबिनमा चासो देखाएको थिएन।
मिडियामा घटना सार्वजनिक भएपछि मात्रै महानगरले समिति गठन गरेको थियो। पाण्डेले सुत्केरी अवस्थाकी महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औँला उठाएको, गाली गर्दै ‘तैँले मेरो बच्चा पाको होस् र? जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिनू’ भन्ने जस्ता दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ।
छानबिन समितिमा महानगरपालिका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल संयोजक, न्याय प्रशासन विभागको कर्मचारी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य रहेको समिति गठन भएको हो।
७ दिनभित्र पाण्डे माथि छानबिन गरेर समितिले प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन बुझाउनुपर्ने छ।
नगर प्रहरी प्रमुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै नगर नायब निरीक्षक लोकनाथ चुँडालले समेत राजीनामा दिएका थिए। उनले नगर प्रहरीहरूमाथि माथिल्लो तहबाट पटक-पटक पीडा र दुर्व्यवहार भएपछि राजीनामा दिएको दाबी गर्ने गरेका छन्।
पुष १५, २०७९ शुक्रबार ००:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।