बदनाम कम्पनीसँग मिलेर विकास बोर्डले दुबईमा फिल्म महोत्सव गर्ने सम्झौता

काठमाडौँ : विदेश पठाउने प्रलोभनमा ठगी गरेको दुई आरोपीलाई दायाँ-बायाँ राखेर चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली फिल्मको प्रवर्धन र प्रचार गर्न महोत्सव आयोजना गर्ने सम्झौता गरेका छन्।
बोर्डको कार्यालयमा कार्यक्रमको आयोजना गरेर जापान लैजानेभन्दै पैसा लिएर नदिएको आरोपमा वैदेशिक रोजगार विभागले छापा मारेर कर्मचारी पक्राउ गरी पैसा फिर्ता गराएको सूर्य कर्पोरेसनसँग दुबईमा ‘नेपाली सिनेमा फेस्ट २०२३’ आयोजना गर्न सम्झौता गरेको हो।
यो प्राली ट्राभल्स एजेन्सीको नाममा दर्ता भएर जापान, अमेरिकामा लैजान्छु भनेर पैसा उठाएर ठगीमा संलग्न रहेकोमा मात्रै हैन मनोरञ्जनात्मक कार्यक्रमको आवरणमा मानव तस्करीमा समेत जोडिँदै आएको छ।
सोही संस्थासँग सहकार्य गर्दै बोर्डले दुबईमा कार्यक्रम गर्दैछ। त्यसका लागि बोर्डले ३० लाख दिने सम्झौता गरिसकेको छ।
कार्यक्रममा मञ्चमा ठगीका आरोपी कर्पोरेसनका सिइओ वासुदेव लामिछाने र सो कर्पोरेसनसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्ने चलचित्र पत्रकार सङ्घका पूर्व महासचिव समीर बलामी समेत केसीसँगै थिए।
कार्यक्रममा दिइएको जानकारी अनुसार २०२३ फेब्रुअरी १३ देखि १५ (फागुन १-३ गते) सम्म दुबईमा कार्यक्रम हुनेछ।
केसीले सो कार्यक्रम बोर्डद्वारा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको पहिलो कार्यक्रम भएको दाबी समेत गरेका छन्।
कार्यक्रममा उनले अरबी भाषामा सबटाइटल राखेर नेपाली फिल्म प्रदर्शन गर्ने, नेपालबाट लगेका कलाकार र युएईमै रहेका कलाकारका विभिन्न प्रस्तुति, नेपाली फिल्मको बजार विस्तार तथा छायाङ्कन सुविधा पहलका लागि त्यहाँको सरकारका प्रतिनिधि, नेपाली दूतावास, व्यापारी, विशिष्ट व्यक्ति तथा कलाकर्मीबिच अन्तर्क्रिया गर्ने दाबी गरिएको छ।
केसीले अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको बजार विस्तारको पहलका लागि सुरु गरिएको दाबी गर्दै विवादित कम्पनीसँगको सहकार्यमा हुने कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगका लागि अत्यन्त महत्त्वपूर्ण रहेको दाबी गरेका थिए।
पुष १४, २०७९ बिहीबार २३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।