आहा रारा गोल्डकप: ११ वर्षपछि भिडेका धरान र सहाराबीचको खेलमा धरान विजयी
पोखरा: पोखरा रङ्गशालामा सुरु भएको २२औँ संस्करणको 'आहा रारा गोल्डकप'को पहिलो खेलमा धरान फुटबल क्लब विजयी भएको छ। सहारा क्लबको आयोजनामा बिहीबारदेखि सुरु भएको खेलमा आयोजक सहारा क्लबलाई १–० ले हराउँदै धरानले जित निकालेको हो।
धरानका प्रकाश बुढाथोकीले खेलको चौथो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको ४ मिनेटमै धरानले डिबक्स क्षेत्र नजिकै फ्रिकिक पाएको थियो। फ्रिकिकलाई उपयोग गर्दै धरानका बुढाथोकीले गोल गरेका हुन्। बुढाथोकी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए।
आयोजक सहारा र धरान फुटबल क्लब आज समेत गर्दा हालसम्म तीन पटक आमनेसामने भएका छन्। यसअघिका दुई खेलमा आयोजक सहारासँग धरान पराजित भएको थियो।
२०६८ मा अन्तिम पटक भिडेका यी दुई टोलीबीच ११ वर्षपछि प्रतिस्पर्धा भएको थियो। १०औँ संस्करणमा सहाराले १–० ले धरानलाई पराजित गरेको थियो।
नवौँ संस्करणको पहिलो खेलमा पनि आयोजक सहाराले धरानलाई २–१ ले पराजित गरेको थियो। शुक्रबार हुने दोस्रो खेल नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच हुनेछ।
पुष १४, २०७९ बिहीबार २१:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।