नेपाल टी-ट्वान्टी लिगमा जनकपुरको तेस्रो जित
काठमाडौं। नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई ८ विकेटले हराएको छ। सन्दीप जोरा र चाडविक वाल्टनको उत्कृष्ट ब्याटिङको मद्दतमा जनकपुरले लिगमा तेस्रो जित हात पारेको हो।
फार वेस्टले जितको लागि दिएको १७० रनको विजय लक्ष्य जनकपुरले १८.२ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्टायो। जनकपुरका लागि सन्दीप जोराले ५४ बलमा ३ चौका र ५ छक्कासहित अविजित ७७ रनको योगदान दिए। त्यस्तै, वेष्ट इण्डिजका खेलाडी चाडविक वाल्टनले ४० बलमा २ चौका र ५ छक्कासहित ६९ रन जोडेका थिए।
टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको फार वेस्टले भने निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। जसका लागि करण केसीले मात्र १७ बलमा ३ चौका र ४ छक्कासहित ४६ रनको योगदान दिएका थिए।
यो तेस्रो जितका साथ जनकपुर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। जनकपुरको ४ खेलमा ३ जितपछि ६ अंकका छ। लुम्बिनी भने ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ। मात्र एक खेल जितेको फार वेस्ट लिगको पाँचौं स्थानमा रहेको छ।
पुष १४, २०७९ बिहीबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।