बुटवलमा सडक खाना महोत्सव आयोजना हुने
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा सडक खाना महोत्सव आयोजना गर्ने भएकाे छ। लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका विभिन्न परिकारहरूलाई एकै थलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले शुक्रबारदेखि तीन दिने सडक खाना महोत्सव आयोजना गरिएको संघले जनाएको छ।
बुटवल वडा नं. ९ तीनकुने चोकदेखि नयाँ बसपार्कसम्म निर्माणाधिन कालिकापथ सडकको दायाँ-बायाँ आयोजना गरिने महोत्सवमा विभिन्न खानाका परिकार सहितका १ सय बढी स्टल हुने छन्। संघका अध्यक्ष रामप्रसाद गौतमले सडक खाना महोत्सव साँझ ६ बजेदेखि राती १२ बजेसम्म सञ्चालन हुने बताए।
महोत्सवको शुक्रवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सडक खाना महोत्सवले बुटवलमा होटल व्यवसाय प्रवर्द्धनको लागि सघाउ पुर्याउने बताइएकाे छ।
संघले यसअघि २०७५ सालमा पहिलो र ०७६ सालमा दोश्रो सडक खाना महोत्सव आयोजना गरेका थियाे। कोभिड महामारीका कारण पछिल्ला दुई वर्ष खाना महोत्सव आयोजना हुन नसकेकोमा गत बैशाख १ गते बुटवलकै हिलपार्कमा तेश्रो खाना महोत्सव आयोजना भएकाे थियाे।
यसपटक चौथो पटक सडक खाना महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए। संघका महासचिव माधव प्रसाद खनालले सडक खाना महोत्सवले सुस्ताएको पर्यटन व्यवसायलाई जगाउने र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे।
पुष १४, २०७९ बिहीबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।