गण्डकी प्रदेशसभामा ५६ सांसदले नेपाली भाषामा र ३ जनाले मातृभाषामा लिए शपथ
पोखरा। गण्डकी प्रदेशसभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका ५९ जना सांसदहरूलाई प्रदेशसभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
पर्वतको प्रदेशसभा २ बाट निर्वाचित भएका ६५ वर्षीय बस्यालले जेष्ठ सदस्यको हैसियतमा गण्डकी प्रदेश प्रमुख पृथ्बीमान गुरुङ समक्ष बुधबार पद तथा गोपनियताको सपथ लिएका थिए। जेष्ठ सदस्य बस्यालसँग ५६ जना सांसदले नेपाली भाषामा शपथ लिएका थिए भने ३ जना सांसदले मातृ भाषामा शपथ लिएका छन्।
नेपाली कांग्रेसकी सरस्वती गुरूङ, पर्वती तामाङ र राप्रपाका पञ्चराम तमुले मातृ भाषामा शपथ लिएका हुन्। शपथ खाएपछि सांसदहरूले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लगाएका छन्।
शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको प्रमाणपत्र सहित राष्ट्रिय पोशाकमा उपस्थित भएका थिए। प्रदेश प्रमुख पृथ्वीमानले १८ गते प्रदेश अधिवेशनको आह्वान गरेका छन्। संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ।
प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सभामुख, उपसभामुखको निर्वाचन नभएसम्म संसदको अध्यक्षता बस्यालले गर्ने छन्। गण्डकी प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसले २७, एमालेले २२,माओवादीले ८, राप्रपाले २ र एकीकृत समाजवादीले १ सिट जितेको छ ।
पुष १४, २०७९ बिहीबार १६:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।