गण्डकी प्रदेशसभा सदस्यको शपथ ग्रहण आज
पोखरा। गण्डकी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ। प्रदेशसभाका सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले दिउँसो १ बजे गराउने छन्।
पर्वतको प्रदेशसभा २ बाट निर्वाचित भएका ६५ वर्षीय बस्यालले जेष्ठ सदस्यको हैसियतमा गण्डकी प्रदेश प्रमुख पृथ्बीमान गुरुङ समक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका थिए। प्रदेश प्रमुख समक्ष शपथ लिएको बस्यालले आज गण्डकी प्रदेशसभाका बाँकी ५९ जना सांसदलाई शपथ खुवाउने कार्यक्रम छ।
शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको प्रमाणपत्र सहित राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाकमा उपस्थित हुनेछन्। प्रदेश प्रमुख पृथ्वीमानले १८ गते प्रदेश अधिवेशनको आह्वान गरेका छन्।
संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ। प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
सभामुख, उपसभामुखको निर्वाचन नभएसम्म संसदको अध्यक्षता बस्यालले गर्ने छन्। गण्डकी प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसले २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र एकीकृत समाजवादी १ सिट जितेको छ।
पुष १४, २०७९ बिहीबार १२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।