बन्दिपुरमा समीक्षा भेला गर्दै विवेकशील साझा पार्टी
काठमाडौं : बदलिँदो राजनीतिक परिदृश्य, सम्भावना र नयाँ रणनीतिबारे समीक्षा गर्न विवेकशील साझा पार्टीले समीक्षा बैठक गर्ने भएको छ।
शुक्रबार र शनिबार तनहुँको बन्दिपुरमा हुने बैठकमा निर्वाचन परिणाम, वैचारिकी, बदलिँदो राजनीतिक विकासक्रम, वैकल्पिक राजनीतिको आगामी स्पेश र सहकार्य, ध्रुवीकरणका विषयामा छलफल हुने प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।
‘अगुवा साथीहरूसँग निर्ममताका साथ खुला छलफलको फोरमका रूपमा समीक्षा बैठकलाई डिजाइन गरिएको छ, सबै कोणबाट आफ्ना सुझाव, अनुभव र आगामी बाटोबारे अगुवा साथीहरूले बहस गर्नुहुन्छ,’ प्रवक्ता परियारले भने, ‘संघीय समितिले आफ्ना कुरा लाद्नेछैन। अगुवाका सुझाव, सल्लाह र रचनात्मक आलोचना लिपीबद्ध गरिनेछ।’
वैकल्पिक राजनीतिक केन्द्रको रुपमा स्थापित विवेकशील साझा पार्टी तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राप्रपा प्रवेशसँगै केही समय शिथिल बनेको थियो।
पार्टीलाई नै राप्रपामा मिसाउने मिश्रको कदम असफल बनाएर नयाँ शिराबाट अघि बढ्ने सोचअनुरूप भेला आयोजना गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन्।
पुष १४, २०७९ बिहीबार १२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।