पानी भर्नकै लागि दाेस्राे श्रीमती : न सन्तान जन्माउन पाउँछन्, न सम्पत्तिमा नै हक लाग्छ

पानी भर्नकै लागि दाेस्राे श्रीमती : न सन्तान जन्माउन पाउँछन्, न सम्पत्तिमा नै हक लाग्छ

बाँझो जमिन। खरको घर। महिलाहरू टाउको र कम्मरमा पानीको भाँडो बोकेर आउँछन्। यो दृश्य टाढाबाट सुन्दर पेन्टिङजस्तो देखिन्छ तर नजिकबाट नियाल्दा वास्तविकता एकदमै अँध्यारो छ।

यी महिलाहरू विवाहित हुन्। श्रीमान् र पूरै परिवार पनि छन्। तर उनीहरू न आमा बन्न सक्छन्, न श्रीमानकाे सम्पत्तिमा नै कुनै हक छ। यी महिलाहरू पत्नी हुन्, तर पानी भर्नका लागि मात्र। पानी भर्ने क्रममा धेरै महिला घाइते भए, बिरामी पर्न थाले, तर अवस्था परिवर्तन भएन।

दिउँसोको समय गाउँको एउटा घरमा पसेँ। माटो र बाँसले बनेको घरमा सजावटको नाममा दुई–तीनवटा तस्बिर भित्तामा टाँगिएका छन्। यीमध्ये एउटा तस्बिरमा सकाराम भगत अर्थात् घरका मुली र तीनजना राम्रा लुगा लगाएकी महिलासँग बसेका छन्। यी तीन महिला सकारामका पत्नी हुन्। बाँकी तस्बिर पहिलो श्रीमती र सन्तानका हुन्। पहिलो श्रीमतीबाट ६ सन्तान छन् तर अन्य दुईबाट कुनै पनि छैनन्।

यी दुईले सन्तान जन्माउन पाएनन् भन्ने होइन, उनीहरूलाई सन्तान जन्माउने अनुमति नै थिएन। किनभने उनीहरू ‘पानी पत्नी’ अर्थात् पानी ल्याउनका लागि ल्याइएका पत्नीहरू हुन्। यहाँका मानिसहरू उनलाई ‘पानीवाली बाइ’ भन्छन्। उनीहरूले विवाहको हैसियत पाउँदैनन्।

०००

सकाराम घरमै बसिरहेका थिए। पहिलो श्रीमती टुकी जङ्गलबाट काठको बन्डल ल्याएर श्रीमानको छेउमा बस्छिन्। अर्की श्रीमती सखी छेउमा उभिरहेकी थिइन्। उनको आँखामा मेरा बारेमा अनेक प्रश्नहरू देखेँ– यो को हो?, कहाँबाट आयो र कतै मलाई श्रीमानबाट छुटाउन त आएको होइन?

तेस्रो श्रीमती रमादेवीको स्वास्थ्य धेरै दिनदेखि ठिक नभएकाले छेउको कोठामा आराम गरिरहेकी छन्। आजकल रमाकाे काम टुकी र सखीले बाँडेर गर्छन्।

याे गाउँमा पानी भर्नका लागि मात्रै पुरुषले धेरै श्रीमती ल्याउने गरेका छन्। यो कुरा गाउँबाहिर पुगेपछि गाउँकाे बदनाम गरेकाे भन्दै नेताहरूकाे धम्की पनि आयाे। उनीहरूले विवाह रद्द गर्न धेरैपटक भने।त्यसैले सकारामले पहिले मसँग कुरा गर्न अस्वीकार गरे। तर, सम्झाएपछि उनी सहमत भए।

जेठी श्रीमती टुकीले सुनाइन् श्रीमानको दोस्रो विवाहको कथा
नयाँ बिहे भयो। श्रीमान् खेतबारीका लागि बाहिर गएर साँझ फर्किनुहुन्थ्यो। बिहानै उठ्ने, सरसफाइ गर्ने, पानी ल्याउने, खाना पकाउने, बाख्रा चराउने, त्यसपछि फेरि पानी लिन जाने। जीन्दगी यसरी नै चलिरहेकाे थियाे।

दुई वर्षपछि पहिलो सन्तान जन्मियो। त्यसपछि दोस्रो, तेस्रो, चौथो...र छैटौं। त्यसपछि मेराे स्वास्थ्य पनि कमजाेर बन्दै गयाे। पानी ल्याउन समस्या हुन थाल्यो। गाउँमा धारा वा पोखरी छैन। ७ किलोमिटर टाढाबाट पानी ल्याउनुपर्थ्याे।

एक दिन अचानक श्रीमानले अर्की श्रीमती ल्याउनुभयाे। मैले सपनामा पनि सोचेको थिइन कि श्रीमानले यस्तो गर्नुहुन्छ भनेर। म धेरै दिनसम्म श्रीमानसँग रिसाएँ र बाेलिन पनि। त्यसपछि उहाँले मलाई सम्झाउनुभयाे- म दिनकै पानी मात्र ल्याउँदा खेती कसले गर्ने, पैसा कहाँबाट ल्याउने अनि हामी सबैले के खाने? मलाई पनि उनको कुरा ठिकै लाग्यो।

मैले सखीलाई सोधेँ- तिमी किन दोस्रो श्रीमती बन्न सहमत भयौ?
सखी केही बेर चुपचाप बस्छिन् र प्रश्नहरू टार्न खोज्छिन् अनि भन्छिन्– म एक्लै बस्थेँ, त्यसैले उनीसँग विवाह गर्न तयार भएँ।

तपाईंको परिवारमा किन कोही थिएन?
सखी भन्छिन्, ‘मेराे पहिले पनि विवाह भएकाे थियो तर श्रीमानले छोडेर गए। माइतीमा पनि कोही थिएन। यस्तो अवस्थामा विवाहको प्रस्ताव आउँदा सहमत भएँ।’

विवाहपछि यहाँ आउँदा टुकीले खाना पकाउने र पानी ल्याउने गर्थिन्। विहान निस्किएपछि साँझ परेसम्म दिनमा ६० देखि ८० लिटर पानी ल्याउनुपर्थ्याे। सुरुमा कुनै समस्या थिएन तर पछि यसको प्रभाव स्वास्थ्यमा देखिन थाल्यो र बिरामी पर्न थालिन् अनि पानी ल्याउन समस्या भयो।

पानी ल्याउँदा-ल्याउँदै सखी पनि बिरामी पर्न थालेपछि सकारामले फेरि विवाह गरे। उनकी तेस्रो पत्नी रमादेवी हुन्। टुकी अझै पनि खाना पकाउँछिन् र घरको बाँकी काम गर्छिन्। सखी खेतमा मजदुरको रूपमा काम गर्छिन् र रमादेवीले पानी ल्याउने जिम्मा लिन्छिन्। पानीका लागि २४ घण्टा अगावै भाँडाकुँडा राख्न जानुपर्छ।

सखी र रमादेवीका सन्तान छैनन्?
सकाराम भन्छन्– ‘टुकीका सन्तान नै दुवैका सन्तान हुन्। दुवैले सन्तान जन्माए पानी कसले ल्याउने?’

उनीहरूलाई अधिकार नदिएर गल्ती गरे जस्तो लाग्दैन?
सकाराम भन्छन्– हैन। मैले जवान वा कुमारी केटीहरूलाई पत्नीको रूपमा ल्याएको छैन। विपन्न महिलालाई सहयोग गरेँ। यसमा के गलत छ र!

के यहाँ कसैले विरोध गरेको छैन?
सकाराम थप्छन्, ‘नजिकैका गाउँमा पनि यस्ता विवाह भएका छन्। गाउँ पञ्चायतले पुरुषको एकभन्दा बढि विवाहमा कहिल्यै आपत्ति जनाएको छैन। यसले विपन्न महिलालाई सहयोग भएकाे पञ्चायतको विश्वास छ।

सन्तान जन्माउन नपाउँदा दुःख लाग्दैन?
सकरामकी दोस्रो श्रीमती सखी भन्छिन्, ‘कुन महिलालाई सन्तानविना बाँच्न मन लाग्छ र। हामी पनि आमा बन्न चाहन्थ्यौं तर के गर्न सक्छौँ र? हाम्रो पनि बाध्यता छ। बाँच्नका लागि खाना पाइरहेका छौँ, त्यसैले बसेका छौँ।’

सकारामको घरबाट निस्किएपछि मेरो भेट अर्की ‘पानीवाली बाइ’ वन्दना जयरामसँग भयो।

वन्दना भन्छिन्, ‘बिहान उठेदेखि राति नसुत्दासम्म पानी मात्रै ल्याउनुपर्छ। गर्मीमा रातभर पानी बोक्नुपर्छ। लगातार हिँड्दा घाँटी, कम्मर र गोडामा सधैँ दुख्छ। म दमको बिरामी भएँ। शरीर रोगको घर बनेको छ, तर के गर्ने, पानी त ल्याउनैपर्याे।’

दुई वा तीन श्रीमती कसरी सँगै बस्छन्? झगडा पर्दैन?
वन्दना हाँस्दै भन्छिन्– हुन्छ नि! झगडा पर्छ, गालीगलौज हुन्छ, कहिलेकाहीँ त मारामार नै पर्छ।

श्रीमानकी पहिलो श्रीमतीको कोरोनाबाट मृत्यु भएकाले वन्दनाले अहिले घर र बाहिर दुवैको व्यवस्थापन गर्नुपर्ने कुराकानीबाट थाहा भयो।

त्यसपछि म गाउँका धेरै घरमा गएँ तर प्रहरी र सञ्चारमाध्यमसम्म खबर पुग्ने डरले डरले मानिसहरूले मसँग कुरा गर्न मानेनन्। महिलाहरू पनि घरको कुरा बाहिर लगाउँदा श्रीमानले कुटपिट गर्ने र घरबाटै निकाल्दिने हुन् कि भनेर डराएकाे पाएँ।

त्यसपछि म गाउँका सरपञ्चलाई भेट्न गएँ, तर उनी घरमा थिएनन्। अघि बढ्दै गर्दा मैले पूर्व सरपञ्च गणेश तुपाङ्गेलाई भेटेँ।

मैले ‘पानीवाली बाइ’को बारेमा सोध्दा उनले आलटाल गरेर जवाफ दिए। गाउँका थोरै पुरुषले मात्रै बहुविवाह गरेको उनले बताए।

उनले प्रश्न गरे, ‘समस्या हुनेले उजुरी दर्ता गर्छन्, तपाईं किन यसलाई मुद्दा बनाउँदै हुनुहुन्छ?’

करिब ५०० जनसङ्ख्या भएको यो गाउँले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको छ। जबकि मुम्बईलाई पानी आपूर्ति गर्ने बस्ता बाँध यहाँबाट मात्र ८ किलोमिटर टाढा छ। मुम्बईका जनताले यस बाँधको सम्पूर्ण पानी पाइपलाइनबाट पाउँछन्, तर बाँध बनाउने महिलाहरू अझै पनि थोपामा निर्भर छन्।

महाराष्ट्रको पानी संकटमा काम गरेका र जलभूषण सम्मानबाट सम्मानित भएका डा. प्रवीण महाजन, बस्ता नदीमा बनेको बाँधबाट गाउँसम्म पानी पुर्याउने जिम्मेवारी ग्राम पञ्चायतको भएको बताउँछन्। तर, उनीहरूसँग यसका लागि पर्याप्त बजेट छैन। उनीहरूले महाराष्ट्र सरकारसँग मद्दत खोज्नुपर्छ।

यस क्षेत्रका विधायक दौलत दरोडा, जलजीवन मिशन अन्तर्गत हरेक घरमा खानेपानी पुर्याउने योजनामा ​​तीव्र गतिमा काम भइरहेको बताउँछन्। २०२४ मेसम्ममा गाउँलेहरूले पानी पाउने उनकाे दाबी छ।

(भारतको दैनिक पत्रिका भास्करका लागि दिप्ती मिश्राको सिरिज ब्याकबाेर्ड सिरिजकाे एक अंकबाट अनुवाद गरिएकाे)

पुष १४, २०७९ बिहीबार ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।