दिनानु दिन घटिरहेकाे छ देशभरकै तापक्रम, जाडाे बढ्दाे
काठमाडाैं। विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुासर आज काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। मंगलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ। मंगलबार काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेको थियाे।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ ।
उनका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव एक डिग्री सेल्सियस, ताप्लेजुङको तीन दशमलव पाँच, लुम्लेको चार, डडेल्धुराको चार दशमलव चार डिग्री सेल्सियस, जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ, जोमसोमको माइनस पाँच र जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।
विभागका अनुसार अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ। पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना रहे पनि तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु -कुहिरो लाग्ने सम्भावना रहेको छ।
हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको मौसमविद्ले बताएका छन्। आज प्रदेश १ को पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् प्रधानाङ्गले बताए।
पुष १३, २०७९ बुधबार २०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।