ज्योतिषले निकालेको साइत अनुसार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटारमा सरे प्रचण्ड
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन्। ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन्।
अध्यक्ष प्रचण्ड ज्योतिषले निकालेको साइतअनुसार पूजापाठ गरेर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन्। उनी आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
यसपछि प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरिसकेका छन्।
प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्री नियुक्त भएका हुन्।
एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्डले नयाँ सरकारमा प्रधानमन्त्रीमा दावी गरेका थिए। उनलाई प्रतिनिधि सभाका १६९ जना सांसदहरूको समर्थन थियो।
पुष १३, २०७९ बुधबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।