पाेखरामा सडक नै कब्जा गरेर महोत्सव, स्थानीयहरू चार किलोमिटर टाढासम्म हिँडेर सवारी साधन चढ्न बाध्य

पाेखरामा सडक नै कब्जा गरेर महोत्सव, स्थानीयहरू चार किलोमिटर टाढासम्म हिँडेर सवारी साधन चढ्न बाध्य

पोखरा। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा २४ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ। रेष्टुरेन्ट एन्ड बार एशोसियशन नेपाल (रेबान) पोखराको आयोजनामा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु भएको महोत्सव पाँच दिनसम्म चल्ने छ। 

पुसकाे १७ गतेसम्म जारी रहने महोत्सवको बुधबार फेवाताल किनारस्थित कोमागाने पार्कमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले उद्घाटन गरे। ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नारासहित सुरु भएको महोत्सब फिष्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब तीन किलोमिटरको क्षेत्रमा संचालन हुनेछ। 

महोत्सवको उद्घाटन अघि हल्लनचोकबाट विभिन्न जातजाति, आमा समूह, संघ संस्थाहरूले सांस्कृतीक झाँकी र नृत्य प्रस्तुत गरेका थिए। पर्यटक प्रवर्द्धन गर्नका लागि विगत २४ वर्षदेखि रेवानले अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्दै आएको अध्यक्ष नरेश भट्टराईले बताए। 

महोत्सवका मुख्य आकर्षणको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरू, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, लाइभ कन्सर्ट प्रस्तुति हुनेछ।

त्यस्तै, बोट रेस, खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको डकुमेन्ट्री प्रर्दशन हुने आयोजकले जनाएको छ। महोत्सव अवधिभर व्यवसायीले आफ्ना भान्छा सडकमै राखेर सेवा दिने छन्।

महोत्सवमा होटल रेष्टुरेन्टका करिब तीन सय ५० वटा स्टल सडकमा राखिने छन्। आगन्तुक पाहुनालाई राम्रो आतिथ्यतासहित रेष्टुरेण्ट र होटलले आफ्नो मेनुमा विशेष छुट सहितको सेवा प्रदान गर्ने महोत्सवको संयोजक समेत रहेका भट्टराईले बताए।

रेवानले अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष लेकसाइडको तीन किलोमिटर क्षेत्रको सडक कब्जा गरेर महोत्सव गर्दै आएको छ। पाँच दिनसम्म सडकमा सवारी आगमन नै रोकेर महोत्सव गर्दा समेत स्थानीय प्रशासन मुकदर्शक बन्दै आएको छ। 

व्यवसायीहरूले प्रत्येक वर्ष सडक नै कब्जा जमाएर महोत्सव गर्दा स्थानीयले पाँच दिनसम्म आफ्ना सवारी साधन घरमा थन्काएर तिन, चार किलोमिटर टाढा पुगेर भाडाका सवारी चढ्न बाध्य भएको भन्दै प्रहरी प्रशासन समक्ष विगतका वर्षहरूमा पनि गुनासो पोख्दै आएका थिए।

तर,पर्यटन प्रवर्द्धन गर्ने नाममा व्यवसायीले पाँच दिनसम्म सडक कब्जा गर्ने परिपार्टीको अन्त्यका लागि स्थानीय प्रशासनले खासै चासो दिएको छैन। विगतमा आयोजित महोत्सवमा व्यवसायीहरूले खानादेखि होटलका रुममा समेत मनलाग्दो मुल्य लिएर ठगी गर्दै आएकाे आरोप लाग्ने गरेको छ।

नयाँ वर्षका अघिल्लो राती लेकसाइडको मोहोत्सवमा ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गर्दछन्। ठूलो संख्यामा आउने पर्यटकसँग पोखराका होटल व्यवसायीले विगतका वर्षहरूमा अघिपछि एक हजार रूपैयाँमा दिने होटलका कोठाकाे पाँचदेखि सात हजार सम्म असुल्ने गरेका थिए।

तर, मनलाग्दो रकम लिएर ठगी गर्दा समेत प्रहरी प्रशासन र आयोजकले बेवास्ता गर्दै आएका छन्।
 

पुष १३, २०७९ बुधबार १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।