गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले लिए शपथ

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले लिए शपथ

पोखरा। गण्डकी प्रदेशसभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष शपथ लिएका छन। पर्वतको प्रदेशसभा-२ बाट निर्वाचित भएका ६५ बर्षीय बस्यालले आज प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।

एमालेबाट निर्वाचित सांसद बस्याल गण्डकी प्रदेशसभाका सबैभन्दा जेष्ठ सदस्य हुन्। उनी कांग्रेसका सांसद विन्दु थापा भन्दा जम्मा २ दिनले जेठा रहेका छन्। गण्डकी प्रदेशसभाका बाँकी ५९ जना सांसदलाई बस्यालले बिहीबार शपथ खुवाउने कार्यक्रम छ।

प्रदेश प्रमुख पृथ्वीमानले १८ गते प्रदेश अधिवेशनको आह्वान गरेका छन्। संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सभामुख, उपसभामुखको निर्वाचन नभएसम्म संसदको अध्यक्षता बस्यालले गर्ने छन्।

गण्डकी प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसले २७, एमालेका २२, माओवादी ८, राप्रपाका २ र एकीकृत समाजवादी १ सिट जितेको छ।

पुष १३, २०७९ बुधबार १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।