१२ सांसद भएकाे जसपाकाे संसदीय दलको निर्वाचन आज, अशोक राई र राजकिशोर यादव प्रतिस्पर्धामा
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको निर्वाचन आज हुने भएको छ।
जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आज संसदीय दलको निर्वाचनको कार्यतालिका तयार भएको हो।
निर्वाचनका लागि मिथिलेसकुमार सिंहको संयोजकत्वमा जसपाले निर्वाचन समिति गठन गरिसकेको छ। समितिको सदस्यमा अर्जुन थापा र दिपेन्द्र झा रहेका छन्।
जसपाले विहान ११ देखि १२ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्ने र दिउँसो साढे २ देखि साढे ४ बजेसम्म मतदान गर्ने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।
संसदीय दलको नेताका लागि नेताहरू अशोककुमार राई र राजकिशोर यादवले इच्छा व्यक्त गरेका छन्।
जसपामा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ पाँच गरी १२ सांसद् छन्। पार्टी अध्यक्ष उपेन्द्र यादव यसपटक सांसद छैनन्। उनलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले १७ हजार ६३ मतान्तरले पराजित गरेका थिए।
राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले मात्र १६ हजार ९७९ मत ल्याएका थिए।
पुष १३, २०७९ बुधबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।