पहिलो विदेशभ्रमण भारत हुनसक्छ : प्रधानमन्त्री दाहाल

पहिलो विदेशभ्रमण भारत हुनसक्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो विदेश भ्रमण भारतको हुनसक्ने बताएका छन्।

प्रधानमन्त्रीमा नियुक्ति भएपछि भारतीय सञ्चारमाध्यम एबिपी न्युजसँग कुराकानी गर्दै उनले पहिलो विदेश भ्रमण भारतको हुनसक्ने बताएका हुन्।

उनले भने‚ ‘मेरो पहिलो विदेश भ्रमण भारत हुने सम्भावना छ।’

कुराकानीमा प्रचण्डले पछिल्लो भारत भ्रमण गरेको समेत स्मरण गरेका थिए। उनले नेपाल–भारत आपसमा मिलेर द्विपक्षीय सम्बन्ध अगाडि बढाउनुपर्नेमा जोड दिए।

प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त भएर शीतलनिवासबाट बाहिरिँदै गर्दा भारतीय राजदूतले फोन गरेर बधाई दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरबाट बधाई दिएको स्मरण गरे।

उनले अहिलेको सरकार विदेशी शक्तिको आडमा नबनेको बताए।

उनले भने, ‘विदेशी सञ्चार माध्याममा आएको जस्तो यो प्रो–चाइना सरकार होइन। यहाँ कोही प्रो–इन्डियन, प्रो–चाइना, प्रो–अमेरिका  छैन। सबैका साथ मिलेर काम गछौं।’

पुष १३, २०७९ बुधबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।