जनता समाजवादी पार्टीको संसदीय दलको निर्वाचन भोलि

जनता समाजवादी पार्टीको संसदीय दलको निर्वाचन भोलि

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको निर्वाचन बुधबार (भोलि) हुने भएको छ।

पार्टीको संसदीय दलको कार्यालयले बुधबार विहान ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिका अनुसार विहान ११ देखि मह्यान्ह १२ बजेसम्म मनोनयन दर्ता गर्ने, १२ देखि साढे १२ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, साढे १२ बजेदेखि १ बजेसम्म नाम फिर्ता लिन सकिनेछ।

यस्तै, दिउँसो साढे १ बजेदेखि २ बजेसम्म उम्मेदवारविरुद्ध दावी विरोध दिन सकिनेछ भने २ देखि साढे २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मतदान हुँदा त्यसपछि मतगणना हुनेछ। संसदीय दलको नेतामा अशोक राईले उम्मेदवारी दिने तय भएको छ।

जसपामा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ पाँच गरी १२ सांसद् छन्। पार्टी अध्यक्ष उपेन्द्र यादव यसपटक सांसद छैनन्। उनलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले १७ हजार ६३ मतान्तरले पराजित गरेका थिए।

राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले मात्र १६ हजार ९७९ मत ल्याएका थिए।

पुष १२, २०७९ मंगलबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।