अर्थतन्त्र नियन्त्रण बाहिर गएकाे छैनः अर्थमन्त्री पौडेल
काठमाडाैं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर नगएको बताएका छन्। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग भएको भेटमा उनले अर्थतन्त्र सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरे।
‘वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले अर्थतन्त्रलाई सुधार गर्न विभिन्न उपाय अपनाउने निर्णय गरेको छ,’ उनले भने, ‘यो समस्या सम्बोधन गर्न सबैको साझा प्रयास हुनुपर्छ।’
उनले निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गर्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरू मनोबल उच्च बनाएर काम गर्नुहोस्’, उनले भने।
यस भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र अहिलेसम्मकै अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै तत्काल अर्थतन्त्र सुधारको दिशामा ध्यान केन्द्रित गर्न आग्रह गरे।
पुष १२, २०७९ मंगलबार १५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।