बार्दलीमा दुईजनाले अभिवादन गरेपछि पुराना कुरा फच्चे भए : सूर्य थापा
काठमाडौं : एमाले नेता एवं सांसद् सूर्य थापाले बालकोटको बार्दलीमा दुईजनाले अभिवादन गरेपछि पुराना कुरा फच्चे भएको बताएका छन्।
मंगलबार काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले केपी ओलीलाई बालकोटको बार्दलीमा पुर्याइयो भन्नेहरू अहिले सोही बार्दलीमा पुगेर अभिवादन गरेपछि सबै पुराना कुरा फच्चे भएको बताएका हुन्।
आफूले सामाजिक सञ्जालमा नोट अफ डिसेन्ट लेख्छु भनेको भिडियो भाइरल बनाएकोमा असन्तुष्टि व्यक्त गर्दै अहिले अवस्था फेरिएको बताए।
‘मैले सामाजिक सञ्जालमा पुरानो लयमा फर्केर बालकोट पुगेपछि सहमति भनेर लेखेको छु,’ उनले भने, ‘सूर्य थापाले कहिले कहिले नोट अफ डिसेन्ट लेख्छ भन्नेहरू पनि छन्। तिनीहरूले राजनीतिलाई कन्टेस्टमा बुझुन् भन्ने मेरो आग्रह हो।’
थापाले केही समयअघि बुटवलमा भएको कार्यक्रममा प्रचण्डलाई प्रधानमन्त्री बनाउन पार्टीले प्रस्ताव गरेको खण्डमा आफूले नोट अफ डिसेन्ट लेख्ने बताएका थिए।
आफू पहिला प्रचण्डसँग ब्यापक रूपमा लडेको मान्छे भएको भन्दै उनले अहिले कुरा मिल्दा बोक्नसमेत तयार भएको बताए।
‘कुरा नमिल्दा लडेकै पनि हो। कुरा मिल्दा बोकेर हिँड्ने पनि हो। अब ३० दिनपछि विश्वासको मत दिन्छु नि मैले,’ उनले भने, ‘पार्टीको निर्णयअन्ुसार दिने हो। पार्टीको संस्थागत प्रक्रियालाई बोकेर हिँड्ने हो।’
सांसद् थापाले राजनीतिक स्थिरताका लागि पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएको बताएका हुन्। नेपाली कांग्रेसले सबै अठ्याउन खोजेपछि सबैकुरा गुमाएको भन्दै उनले प्रचण्डले निर्णय गर्न ढिला गरेको टिप्पणी गरे।
‘प्रचण्डजीले निर्णय गर्न १ मिनेट पनि ढिला गर्न हुँदैनथ्यो,’ उनले भने, ‘तर, उहाँले आधा घण्टा लगाउनुभयो, यद्यपि राम्रो निर्णय गर्नुभयो, ठिक भयो।’
नेता थापाले अहिलेको निर्वाचन प्रणालीले एउटा पार्टीको पनि बहुमत आउन कठिन भएको भन्दै त्यसलाई समीक्षा गर्नुपर्ने बताए।
पुष १२, २०७९ मंगलबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।