साँखु-थली सडक निर्माणको ढिलाइले मेयर कार्की आलोचित, गलत प्रचार गराएको राप्रपा नेतृ पोखरेलको दाबी

साँखु-थली सडक निर्माणको ढिलाइले मेयर कार्की आलोचित, गलत प्रचार गराएको राप्रपा नेतृ पोखरेलको दाबी

काठमाडौँ : अपुरो रहेको साँखु-थली सडक खण्डको निर्माण सक्काउन राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता कुन्ती पोखरेल सक्रिय भएकी छिन्। प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-२ को उम्मेदवार बनेर पराजित भए पनि निर्वाचनको समयमा गरेको वाचा पुरा गर्ने भन्दै उनी निर्माण काम सम्पन्न गराउन सक्रिय भएकी हुन्।

ठेकेदारले तोकिएको समयमा काम सम्पन्न नगर्दा सो सडक खण्डको प्रयोग गरेर दैनिक आवतजावत गर्ने यात्रुले सास्ती पाएपछि सो क्षेत्रका स्थानीयले पटक-पटक अवरोध गर्दै दबाब दिँदै आएका छन्।

पोखरेल सडक निर्माणको काममा सक्रिय हुँदा कागेश्वरी मनहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की भने उल्टो पोखरेललाई आरोप लगाउन सक्रिय देखिन्छन्। स्थानीयको आन्दोलनमा नैतिक रूपमा समर्थन जनाएकै आधारमा बदनाम गर्न निर्माण सम्पन्न गराउन अवरोध पुर्याएको भन्दै गलत प्रचार गरेको पोखरेलको दाबी छ।

'जतिसक्दो चाँडो सडक कालोपत्रे हुनुपर्छ भनेर आन्दोलित स्थानीयलाई साथ दिएकै आधारमा निर्माणको काममै अवरोध पुर्याएको भन्ने मेयर कार्कीको भनाई गलत हो,' उनले भनिन्' स्थानीयले स्थानीय जनप्रतिनिधीहरुलाई बारम्बार सडक विभाग जान आग्रह गर्दा उहाँहरू जानु भएन। म गए। सडक कालोपत्रे रोक्न हैन चाँडो गराउन दबाब दिनु अवरोध गर्नु हैन।'

स्थानीयवासी सहित सडक विभागमा गएर दबाब दिएपछि कालोपत्रे गर्ने काम सुरु भएको भन्दै उनले भनिन्' स्थानीय निकायमा दबाब नदिएसम्म उहाँहरूले कामै सुरु गर्नुभएन। जब दबाब आयो अनि मात्र काम सुरु भयो। यसलाई अवरोध गरेको भन्न मिल्छ र?'

आठ वर्ष अगाडिबाट सो सडक खण्डको स्तरोन्नतिको काम भइरहे पनि काम सम्पन्न भने हुन सकेको छैन। ठेकेदारलाई पटक पटक सरकारले निर्देशन दिँदा समेत सडक सम्पन्न गर्ने कामले तीव्रता पाउन सकेको छैन। स्थानीयवासीले विरोध गर्दै पटक-पटक सो सडक क्षेत्रमा अवरोध गर्दै आन्दोलन गर्दै आएका छन्।

'आफ्नो जिम्मेवारीको काम नगर्ने तर स्थानीयको माग अनुसार काम गर्न दबाब दिँदा काममै अवरोध गर्यो भन्नु राजनीतिक पूर्वाग्रह मात्रै हो,' उनको दाबी छ।

चाबहिलदेखि जोरपाटी, बागमती हुँदै साँखु जोड्ने यो सडक चारवटा प्याकेजमा ३ वर्ष अगाडि ठेक्का लागेको थियो। बिरुवा कन्स्ट्रक्सन, युनाइटेड बिल्डर्स् एन्ड इन्जिनियर्स, बज्रगुरु/च्याङमिला जेभी, बज्रगुरु/सिरुवा/खानी जेभी र सुनकोशी/बिटी जेभी लगायतका कम्पनीले सो सडकको स्तरोन्नतीको ठेक्का पाएका थिए। ठेक्का सम्झौता अनुसार २०७४ मै निर्माण काम सक्काउनु पर्ने भए पनि अझैँ सक्किएको छैन।

पुष १२, २०७९ मंगलबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।