डीएसपी ठगबहादुर केसीलाई निलम्बनका लागि सिफारिस, ३५ ताेला सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख मागेको आरोप

डीएसपी ठगबहादुर केसीलाई निलम्बनका लागि सिफारिस, ३५ ताेला सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख मागेको आरोप

काठमाडाैं। ३५ ताेला सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बनका लागि सिफारिस गरिएकाे छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार प्रहरी प्रधान कार्यालयले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेकाे हाे।

सुन नियन्त्रणमा लिएर व्यापारीसँग पैसा मागेकाे आरोपमा प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी) को टोलीले  आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको थियाे। उनकाे घरबाट ३५ तोला सुन र १८ लाख रुपैयाँ नगदसमेत बरामद भएको थियाे।

केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ। व्यापारीले पैसा बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको थियाे।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।

पुष १२, २०७९ मंगलबार १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।