जापानमा आर्थिक अनियमितताको आरोप लागेपछि मन्त्रीले दिए राजीनामा, तीन महिनामा चार मन्त्री फेरबदल

जापानमा आर्थिक अनियमितताको आरोप लागेपछि मन्त्रीले दिए राजीनामा, तीन महिनामा चार मन्त्री फेरबदल

एजेन्सी: जापानका पुनर्निर्माणमन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिएका छन्। योसँगै प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा चौथो मन्त्रीले राजीनामा बुझाएका छन्।

आफ्ना सहयोगी, श्रीमती र आमालाई गैरकानूनी राजनीतिक भुक्तानी गरेको आरोपमा पुनर्निर्माणमन्त्री केन्या अकिबाले राजीनामा दिएका हुन्। उनले पत्रकारहरूसँग भने, “मलाई विश्वास छ कि मेरो कार्यको सन्दर्भमा कुनै अवैधता छैन।”

उनले बजेट र अन्य विधायिकी कार्यसूचीको काम कारबाही नरोकियोस् भनेर पदबाट राजीनामा दिएको पनि बताए।

प्रधानमन्त्री किशिदाले आफ्नो कार्यकालको सबैभन्दा कम अनुमोदन रेटिङको सामना गरिरहेका बेला उनको मन्त्रिमण्डलका चौथो व्यक्तिको राजीनामा आएको हो। सांसदहरू र एकीकृत चर्च सम्प्रदायबीचको सम्बन्धको बारेमा एकपछि अर्को घोटाला र खुलासापछि नागरिक र मन्त्रिपरिषद्बीच फाटो बढेको छ।

गत महिना आन्तरिक मामिलामन्त्रीले चुनावी अभियानमा आर्थिक अनियमितताको आरोप लागेपछि राजीनामा दिएका थिए। उनको ‘लो प्रोफाइल’ कामले मृत्युदण्डको सजाय स्वीकृत गर्दा सञ्चारमाध्यममा कभरेज मात्र सिर्जना गरेको भन्दै न्यायमन्त्रीले राजीनामा दिएका थिए।

अक्टोबरमा, आर्थिक पुनरुत्थान मामिलामन्त्रीले एकीकृत चर्चसँग सम्बन्ध रहेको आरोपपछि राजीनामा दिएका थिए।

पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको आरोप लागेका व्यक्तिले आफ्नी आमाले पूर्व प्रधानमन्त्री आबेसमेतको संलग्नता रहेको चर्चले आफ्नो परिवारलाई आर्थिकरूपमा निकै कमजोर बनाएको भन्दै सङ्गठनप्रति आक्रोश व्यक्त गरेको समाचार सार्वजनिक भएपछि यो सम्प्रदाय चर्चामा आएको थियो।

आधिकारिकरूपमा विश्व शान्ति र एकीकरणका लागि पारिवारिक महासङ्घको रूपमा चिनिने चर्चले कुनै पनि गलत काम नगरेको बताएको छ।

किशिदाको मन्त्रिपरिषद्को अनुमोदन रेटिंग ३० प्रतिशतको तथाकथित ‘खतराको स्तर’ को नजिक रहेको छ। र जनवरीमा संसद्को अर्को सत्र सुरु हुनुअघि उनले आफ्नो मन्त्रिमण्डल पुनर्गठन गर्न सक्ने अनुमान गरिएको छ।

पुष १२, २०७९ मंगलबार १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।