वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ, हालसम्म २८ भन्दा बढी गाडी कारबाहीमा

वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ, हालसम्म २८ भन्दा बढी गाडी कारबाहीमा
साङ्केतिक तस्बिर

काठमाडौं: वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ। विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरूको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य शहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएको छ।

प्रदूषण जाँचमा पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ। कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ को उपदफा–२ अनुसार जरिवाना हुने बताइएको छ।

यही पुस १ गतेदेखि सुरु भएको प्रदूषण जाँच अभियानमा काठमाडौं उपत्यकामा चल्ने कम्तिमा पनि २८ भन्दा बढी गाडीलाई कारबाहीसहित जरिवाना गरिएको विभागले जनाएको छ।

गाडीहरूले फ्याँक्ने धुवाँको अवस्थाबारे प्रदूषण जाँच गर्ने ‘स्मोक डेन्सिटीमिटर’ मार्फत छड्के जाँच सुरु गर्ने गरिएको विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार प्रदूषण जाँचमा फेल भएका गाडीधनीलाई रु पाँच हजार जरिवाना तिराइएको र तीन दिनभित्र मर्मत गराएर पुनः परीक्षणका लागि विभागमा आउन भनिएको छ।

उक्त जाँचमा काठमाडौं उपत्यकामा चल्ने गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था खराब देखिएको बताइएको छ। “भाडामा चल्ने धेरै गाडी प्रदूषण जाँचमा फेल भएका छन्,” वातावरण विभागका प्रवक्ता पौडेलले भने, “विभागले विशेषगरी डिजलबाट चल्ने जीप, भ्यान, बसलगायतको परीक्षण गर्दै आएको छ, गाडी प्रदूषण पास नभएसम्म पटक–पटक जाँच गर्न लगाउनेछौँ।”

पुष १२, २०७९ मंगलबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।