उत्तर अमेरिकी देशमा विनाशकारी हिमआँधी, ५६ जनाको मृत्यु

उत्तर अमेरिकी देशमा विनाशकारी हिमआँधी, ५६ जनाको मृत्यु

एजेन्सी: उत्तर अमेरिकी देश क्यानडा, अमेरिका र मेक्सिकोका विभिन्न भागमा यतिबेला हिमआँधीको प्रकोप छ। हिमआँधीमा परी हालसम्म ५६ जनाको ज्यान गइसकेको छ।

न्युयोर्क राज्यको बफेलो शहरमा मात्र २८ जनाको ज्यान गएको छ। यो हिमआँधीलाई अहिलेसम्मकै विनाशकारी भएको जनाइएको छ।

अधिकारीहरूका अनुसार केही व्यक्ति आँधीका कारण कारभित्रै दुई दिनसम्म थुनिएका थिए। मौसमविद्हरूका अनुसार मङ्गलबारसम्म थप नौ इन्च हिउँ पर्ने सम्भावना छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आपत्काल घोषणालाई सदर गरिदिएका छन्। अब न्युयोर्क राज्यमा संघीय सहायता उपलब्ध हुनेछ।

"आफ्ना प्रिय व्यक्ति गुमाउनेहरूप्रति मेरो सहानुभूति छ," बाइडेनले ट्वीटमार्फत भने।

यता अधिकारीहरूले भने केही दिनमा थप मृतक भेटिने आशंका गरेका छन्। कतिपय स्थानमा उद्धारकर्ता र आपत्कालीन उद्धार सवारी पनि जान सकिरहेको छैन।

पुष १२, २०७९ मंगलबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।