बिहानै खुमलटार पुगेको महासङ्घको टोलीलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन, 'अर्थतन्त्रमा देखापरेको समस्या समाधान गर्न सरकार गम्भीर'

बिहानै खुमलटार पुगेको महासङ्घको टोलीलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन, 'अर्थतन्त्रमा देखापरेको समस्या समाधान गर्न सरकार गम्भीर'

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर भएको बताएका छन्। आज बिहानै खुमलटारस्थित प्रधानमन्त्रीको निजी निवासमा भेट्न पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीलाई उनले अर्थतन्त्र सुधारमा कदम चाल्ने आश्वासन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले समेत अर्थतन्त्रमा देखापरेका समस्यालाई सम्बोधन गर्ने निर्णय गरेको बताएका थिए। उनले आफू देशको अर्थतन्त्रको विषयमा निकै संवेदनशील भएको पनि बताएका थिए।

सोमबारको मन्त्रिपरिषद्को बैठकपछि नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वित्तीय र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय भएको बताएका थिए।

आज बिहानै नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिन महासङ्घको टोली खुमलटार पुगेको थियो। उक्त टोलीमा महासङ्घका अध्यक्ष शेखर गोल्छासहित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष अञ्जन श्रेष्ठ र महानिर्देशक गोकर्ण अवस्थी थिए।

आजै प्रधानमन्त्री प्रचण्डसँग नेपाल उद्योग परिसङ्घको टोलीले पनि भेट गरेको थियो। परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालको टोली पनि खुमलटारमा पुगेर भेटवार्ता गरेको थियो। यस टोलीले भने सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न चाल्नुपर्ने कदमको अवधारणा प्रधानमन्त्रीलाई बुझाएको थियो।

पुष १२, २०७९ मंगलबार ११:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।