सुशान्त सिंह राजपूतको हत्या भएको दावी
एजेन्सी: अढाई वर्षअघि आफ्नै फ्ल्याटमा मृत फेला परेका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दावी गरिएको छ। भारतीय प्रहरीले उनले आत्महत्या गरेको भन्दै केस बन्द गरे पनि हाल एक चिकित्सकले भने उनको हत्या भएको दावी गरेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार सुशान्तको पोस्टमोर्टम गरिएको कूपर अस्पतालका अटोप्सी स्टाफ रूपकुमार शाहले हत्या भएको दावी गरेका हुन्। शाह सुशान्तको पोस्टमोर्टममा सहभागी थिए।
उनको दावी के छ भने, पोस्टमोर्टमको लागि ल्याउँदा सुशान्तको शरीरमा चोट थियो। गर्दनमा पनि चोट लागेको देखिएको थियो। उनका अनुसार सुशान्तको घाँटीमा दुई-तीन वटा चोटको दाग थियो।
'मैले यसबारे आफ्ना सिनियरलाई भन्न खोजेँ। तर उनीहरूले मलाई यसबारे पछि कुरा गरौँला भनेर टारे', उनले भने। उनले हत्या भएको दावी गरेपछि सिनियर चिकित्सकहरूले तत्काल पोस्टमोर्टम गरेर प्रहरीलाई शव हस्तान्तरण गर्न निर्देशन दिएका थिए।
अटोप्सी स्टाफ रूपकुमार शाह
चिकित्सक शाहको दावी चकित बनाउने यसकारण पनि छ कि, पोस्टमोर्टम रिपोर्टमा झुण्डिएको बेला श्वास फेर्न नसकेर सुशान्तको मृत्यु भएको बताइएको थियो। र, पोस्टमोर्टमको भिडियो रेकर्डिङ पनि गर्न दिइएन। फोटो मात्र खिचियो। अन्तिम समयमा सुशान्तको शरीर कस्तो थियो भन्ने कुनै पनि प्रमाण सार्वजनिक गरिएको छैन।
शाहको भनाइ उद्धृत गर्दै दैनिक भाष्करले भनेको छ, 'सुशान्तको निधनको बेला कूपर अस्पतालमा हामीसँग पाँच मृत शरीर थियो। त्यसमध्ये एक भीआईपीको हो भनिएको थियो। पोस्टमोर्टम गर्न जानेबेला मात्र थाहा भयो त्यो सुशान्तको शरीर थियो।'
'सुशान्तले न्याय पाउनुपर्छ। उनको तस्बिर हेरेर जसले पनि भन्न सक्छ उनको हत्या भएको हो भनेर। यदि अनुसन्धान गर्ने निकायले मलाई सम्पर्क गर्यो भने म उनीहरूलाई यो सबै बताउँनेछु', उनले भने।
१४ जुन २०२० मा सुशान्त बान्द्राको आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए। सुरुमा घटनालाई आत्महत्या भने पनि मिडिया र सामाजिक सञ्जालको दबाबका बीच घटनाको अनुसन्धानको जिम्मा सीबीआईलाई सुम्पिएको थियो। सीबीआईले पनि आत्महत्या नै भएको ठहर गरेको थियो।
पुष १२, २०७९ मंगलबार १०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।