नेपाली फिल्म: कथावस्तु कमजोर भए पनि गीत–सङ्गीत सशक्त हुँदा ओइरिन्छन् दर्शक
काठमाडौं: पछिल्लो समय नेपाली फिल्म गीत–सङ्गीतको कारण सफल हुने गरेको छ। गीत–सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइएको छ।
प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन्। कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक राम्रै प्रस्तुत भएका उदाहरण छन्। प्रचार–प्रसारको सशक्त माध्यम मानिए पनि केही समययता भने गीत–सङ्गीतमै पनि उल्लेख्य लगानी भएको पाइँदैन।
सङ्गीतकार अर्जुन पोखरेल पहिलेको तुलनामा गीत–सङ्गीतलाई भिडियोमा ल्याउँदा भव्यतामा कमी आएको बताउँछन्। “केही गीत–सङ्गीतको राम्रो भिडियो बन्ने गरेको छ। यद्यपि यो सङ्ख्या कम छ”, पोखरेलले भने, “फिल्ममा आउने गीत–सङ्गीतमा जति भव्यता भयो त्यति नै प्रचार–प्रसार हुन्छ। एकलरूपमा एल्बममा आउने गीतले धेरै दर्शक पाउँदैनन्।”
उनको सङ्गीत रहेको फिल्म स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतहरू नै थिए।
केही दिनअगाडि सार्वजनिक भएको ‘डिसेम्बर फल्स’ फिल्ममा समावेश 'फकाउनै जानिनँ' बोलको गीतको भिडियोमा दुई सयको हाराहारीमा डान्सर प्रयोग गरिएको छ। चार दिन छायाङ्कन गरिएको गीत अडियोअनुसार बनेको नृत्य निर्देशक रामजी लामिछानेले बताए।
“काममा स्वतन्त्रता धेरै समयपश्चात पाइयो। बजेटकै कारण निर्माता गीतलाई राम्रो बनाउन कन्जुस्याइँ पनि गर्नुहुन्छ”, उनले भने। उनले निर्माताको बजेटअनुसार काम गरेको बताउँछन्।
पुष १२, २०७९ मंगलबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।