स्पेनमा पुलबाट बस खस्दा सात जनाको मृत्यु

स्पेनमा पुलबाट बस खस्दा सात जनाको मृत्यु
तस्बिर: रोयटर्स

एजेन्सी: स्पेनको आपत्कालीन सेवाले शनिबार क्रिसमस इभमा पुलबाट बस खस्दा सात जनाको मृत्यु भएको जानकारी दिएको छ। लुगोबाट भिगो शहरमा जाँदै गरेको बस पुलबाट करिब ३० मिटर तल खस्दा बस चालकसहित दुई जना घाइते पनि भएका छन्।

आइतबार ६ वटा शव फेला परेको थियो। त्यसपछि तत्काललाई उद्धार रोकिएको थियो। तर घाइतेमध्येककी एकले आफूसँग रहेकी साथी मृतकको सूचीमा नभएको र घाइते भई उपचाररत पनि नभएको जानकारी गराएपछि उद्धार पुनः सुरु गरिएको थियो।

सोमबार भने लेरेज नदीबाट उद्धारकर्ताहरूले दुर्घटनामा परेकी ती महिलाको शव फेला पारेका छन्। उनको शव हेलिकप्टरबाट फेला पारिएको थियो।

बसको चालकले मदिरा वा ड्रग सेवन गरेका थिएनन्। त्यसैले अधिकारीहरूले खराब मौसम दुर्घटनाको कारण हुनसक्ने आकलन गरेका छन्।

उक्त पुल र सडक भई यात्रा गर्ने एक चालकले पुलको छेउको रेलिङ नभएको भन्दै आपत्कालीन् सेवालाई यसबारे जानकारी गराएका थिए। लगत्तै दुर्घटनाका एक घाइतेले बसभित्रैबाट आपत्कालीन सेवालाई फोन गरेर आफूहरू दुर्घटनामा परेको र बसभित्र विस्तारै पानी भरिँदै गएको जानकारी गराएका थिए।

यसपछि उद्धारकर्ताको टोली घटनास्थल 'लोकेट' गरेर पुगेको थियो।

पुष १२, २०७९ मंगलबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।