केही गरौं भन्नेहरूको टिम बनेकाले सहज लागेको छ : प्रधानमन्त्री दाहाल

केही गरौं भन्नेहरूको टिम बनेकाले सहज लागेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही गरौं भन्नेहरूको टिम बनेको बताएका छन्।

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री दाहालले केही गरौं भन्नेहरूको टिम बनेकाले आफूलाई सहज लागेको बताएका हुन्।

स्वतन्त्रतापूर्वक कार्य गर्न सक्छु भन्ने लागेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘केही गरौं भन्नेहरूकै टिम बनेको छ, त्यसकारण मलाई सहज लागेको छ।’

प्रधानमन्त्री दाहालले जनतामा आम रूपमा आशा र भरोसा बढेको देखिएको बताउँदै आफूहरूको अगाडि थुप्रै जटिलता र चुनौतीहरू भए पनि गएको निर्वाचनको परिणामअनुसार मन्त्रिपरिषद्ले समेटेको बताए।

उनले भने, ‘हाम्रो अगाडि, देशको अगाडि पक्कै पनि चुनौतीहरू, जटिलताहरू छन्। तर यो मन्त्रिपरिषद् जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा जस्तो परिणाम देखिएको छ त्यसलाई यो मन्त्रिपरिषदले समेटेको छ र एउटा आशा जगाएको छ।’

पहिलो बैठकबाट देशको अर्थतन्त्रको स्थितिलाई सुधार्ने, सुशासनतर्फ गम्भीर भएर अघि बढ्ने र सार्वजनिक सेवा प्रवाहमा जनताले सास्ती पाउने कुरामा ध्यान दिएर त्यसका समाधानका निम्ति केन्द्रीत भएर अघि बढ्ने संकल्प गरेको उनले बताए।

पुष ११, २०७९ सोमबार २१:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।