नेपाल टी–२० : जनकपुर पाँच विकेटले विजयी, विराटनगर पुच्छारबाट दोस्रो
काठमाडौं : नेपाल टी–२० लिगको सोमबारको दोस्रो खेलमा जनकपुर रोयल्सले विराटनगर सुपरकिंग्सलाई ५ विकेटले पराजित गरेको छ।
१४१ रनको विजयीलक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।
उसका लागि चाडविक वाल्टनले नटआउट ६९ रन बनाउँदा ट्रिभोन ग्रिफिचले २५, शराफुद्दिन अशरफले २३ रन बनाउँदा मोहम्मद आदिल आलमले नटआउट १० रन बनाए।
बलिङतर्फ विराटनगरकी हुसैन तलट, नन्दन यादव र रिजन ढकालले समान एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन बनायो।
उसका लागि सिकन्दर राजाले ३८, रोहित पौडेलले ३२, हुसेन तलटले २८, अर्जुन साउदले १८ र विवेक यादवले १० रन बनाउनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ जनकपुरका ललित राजवंशीले पाँच, मोहम्मद अदील आलम र केस्रिक विलियम्सले समान दुई–दुई र सोमपाल कामीले एक विकेट लिए।
जितसँगै जनकपुर ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहँदा विराटनगर भने अंकविहीन हुँदै पुच्छारबाट दोस्रो स्थानमा छ। पहिलो स्थानमा लुम्बिनी अलस्टार रहँदा तेस्रोमा काठमाठौं नाइट्स र चौथोमा फारवेस्ट युनाइटेड छ।
प्रतियोगिताअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार तथा काठमाडौं नाइट्स र जनकपुर रोयल्स भिड्नेछन्।
पुष ११, २०७९ सोमबार १७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।