कर्णालीका सांसदहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
सुर्खेत : कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
ज्येष्ठ सदस्य विनोदकुमार शाहले सांसदहरूलाई शपथ ग्रहण गराएका हुन्। शाहलाई सोमबार विहान प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका थिए।
शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन्। उनले सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर बैठकको अध्यक्षता ग्रहण गर्नेछन्।
कर्णालीमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र १–१ जना गरी ४० जना सांसद् रहेका छन्।
जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्।
पुष ११, २०७९ सोमबार १६:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।